फ्लाई दुबईले शुरु गर्यो पोखराबाट नियमित हवाई उडान, पर्यटन र आर्थिक विकासमा टेवा पुग्ने ।

२०८३ असोज ०८, बिहिबार ।
१ जनवरी, २०२३ मा उद्घाटन गरिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिक उडान पूर्ण सञ्चालनमा रहेको र अन्र्तराष्ट्रिय उडान नियमित हुन सकेको थिएन । हिजो बुधबारबाट संयुक्त अरब इमिरेट्स (यूएई) को ध्वजावाहक वायुसेवा कम्पनी फ्लाई दुबईले बुधबारदेखि पोखरामा नियमित हवाई उडान सुरु गरेपछि अब राष्ट्रिय र अन्तराष्ट्रिय उडान नियमित हुने छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार साँझ ६ बजेर २२ मिनेटमा फ्लाइ दुबईको बि ७३७–म्याक्सएट जहाज अवतरण भएको थियो । ११३ जना यात्रु बोकेर आएको उक्त जहाज राति नै १५२ जना यात्रु बोकेर दुबई फर्किसकेको छ । पोखरा विमानस्थलमा पानीको फोहराले विमानको स्वागत गरिएको विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले बताए । १६६ सिट क्षमताको उक्त जहाजमा १० सिटमा बिजनेस र १५६ जनाको इकोनोमी क्लासका सिट छन् । पोखराका लागि यो उडान ऐतिहासिक भएको भन्दै पोखरेलीहरुले जनाएका छन । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक डा. मुकेश डंगोल, पोखराका मेयर धनराज आचार्य, महानगरका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेल, पोखरा विमानस्थल प्रमुख, क्यानका पदाधिकारी तथा कर्मचारीहरू, पोखरेली पर्यटन व्यवसायीहरूलगायतले उत्साहका साथ फ्लाई दुबई र यात्रुलाई स्वागत गरेका हुन् । अझ रोचक पक्ष के छ भने, विमान उडाउने नेपाली पाइलट सर्वजित यादव थिए । उनी सन् २०२२ देखि फ्लाई दुबईमा कार्यरत छन् । यात्रुहरु पनि विभिन्न देशबाट दुबई हुँदै पोखरा ओर्लिएका छन् ।
अन्तर्राष्ट्रिय उडानका रूपमा चार्टर उडान तथा पोखरा–ल्हासा साप्ताहिक नियमित उडानबाहेक अपेक्षित रूपमा नियमित अन्तर्राष्ट्रिय सेवा सञ्चालन हुन सकेको थिएन । तर, बुधबारदेखि फ्लाई दुबई र एमिरेट्सको कोड–सेयरिङमार्फत पोखराबाट अन्तर्राष्ट्रिय गन्तव्यमा सहज रूपमा यात्रा गर्न सकिने नयाँ अध्याय सुरु भएको हो । पोखराका पर्यटन व्यवसायीहरुले पनि यो क्षण पोखराको पर्यटन, व्यवसाय, रोजगारी र समग्र आर्थिक गतिविधिका लागि महत्वपूर्ण अवसर भएको भनी खुसी व्यक्त गरेका छन् ।
दुबई–पोखरा–दुबई उडानका लागि गत २५ जेठमा नेपाल नागरिक उड्डयन प्राधिकरणले अनुमति दिएको थियो । सरकारले चालु आवको नीति तथा कार्यक्रममा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय वायुसेवा प्रदायकलाई आकर्षित गर्न कूटनीतिक पहल गर्ने जनाएको केही समयमै फ्लाइ दुबईले उडान अनुमति पाएको थियो । उडान अनुमति पाएसँगै टिकट बिक्री खुला गरिएको थियो । १२० भन्दा बढी गन्तव्यमा फ्लाइ दुबईले सिधा उडान गर्दै आएको छ । दुबई–पोखरा उडानको अनुमानित उडान अवधि ४ घण्टा ३० मिनेट र पोखरा–दुबईको अवधि ४ घण्टा ५० मिनेट रहेको रहेको विमानस्थल प्रवक्ता जसोदा सुवेदीले जानकारी दिइन् । दुबई–पोखरा–दुबई उडान प्रवद्र्धनका क्रममा यात्रु तथा साझेदार संस्थाहरुलाई छुटलगायतका सुविधा दिइएको छ । पोखराका पर्यटन व्यवसायीले पनि यस अवसरमा विभिन्न सेवामा छुट घोषणा गरेका छन् ।
फ्लाई दुबईले शुरु गर्यो पोखराबाट नियमित हवाई उडान, पर्यटन र आर्थिक विकासमा टेवा पुग्ने ।
2 Mins Read


