सभामुख डोल प्रसाद अर्यालको निर्देशन पछि हट्यो सांसद खगेन्द्र सुनारले आईजीपीविरुद्ध लगाएको आरोप ।
२०८३ भदौ ३०, मंगलबार ।
रास्वपा सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीका महानिरीक्षक विरुद्ध गत २६ भदौमा बसेको प्रतिनिधिसभा बैठकमा सांसद सुनारले राखेको अभिव्यक्तिको अंश हटाउन सभामुख डोल प्रसाद अर्यालले निर्देशन दिएका हुन् । ‘माननीय खगेन्द्र सुनारले मिति २०८३ भदौ २६ गतेको बैठकमा ‘कहिल्यै पनि भन्ने वाक्यांशदेखि आरोप गम्भीर हुन्छ’ भन्ने वाक्यांशको बीचको शब्दावली सभाको अभिलेखबाट हटाउन सचिवालयलाई निर्देश गर्दछु,’ सभामुख अर्यालले भने ।
उक्त बैठकको शून्य समयमा उनले महानिरीक्षक कार्कीमाथि करोडौंको भ्रष्टाचार गरेको आरोप लागेको भन्दै बर्खास्त गर्न सरकारको ध्यानाकर्षण गराएका थिए ।
‘तल्लो दर्जाका प्रहरीहरूको जुत्ता, मोजा खाइदिएको आरोप उनीमाथि लागेको छ । करोडौं करोड भ्रष्टाचार गरेको आरोप उनीमाथि लागेको छ,’ सुनारले भनेका थिए, ‘यो सरकार उनलाई बर्खास्त किन गरिरहेको छैन ? उनीमाथि छानबिन किन भइरहेको छैन ? के कारणले उनलाई बचाइ राखिएको छ, यो सम्मानित सदनमार्फत म सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’ साथै, उनले महानिरीक्षक कार्कीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगदेखि संसद्का् सार्वजनिक लेखा समितिमा भ्रष्टाचार गरेको आरोपका उजुरीहरूको चाङमाथि चाङ थपिँदै गएको दाबी पनि गरेका थिए । सांसद सुनारले थप भनेका थिए, ‘सामान्य आरोपको भरमा अहिलेसम्म तीन जना मन्त्री बर्खास्तमा परिसक्नुभएको छ । तर, करोडौं करोड भ्रष्टाचार गरेको आरोप अहिलेका नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की, उनकी श्रीमतीलगायत ठूला अधिकारीमाथि लागेको छ । करोडौं भ्रष्टाचार गरेको आरोपको उजुरीहरू अख्तियारदेखि सार्वजनिक लेखा समितिमा चाङमाथि चाङ खापिँदै गएको छ ।’

