२०८३ कार्तिक ०९, सोमबार ।
हिजो आइतबार धनकुटा र उदयपुरको सीमावर्ती क्षेत्रस्थित त्रिवेणीनजिकै रहेको कोशी नदीमा मोटरबोट दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ भने अन्य तीन जना बेपत्ता छन् । कोशी नदीमा चल्ने मोटरबोट राज्यका कुनै पनि निकायमा दर्ता नभएको र सञ्चालन अनुमतिसमेत नलिएको पाइएको छ । सप्तकोशी जस्तो तीव्र बहाब भएको नदीमा ‘जेटबोट’ मात्र उपयुक्त हुन्छ तर व्यवसायीले तालतलैया र शान्त पोखरीमा चलाइने सस्ता ओबिएम बोट जबर्जस्ती सञ्चालन गर्दा यो दुर्घटना भएको हो । ओबिएम बोट लामो दुरी र तीव्र बहाब भएका नदीका लागि नबनेको सप्तकोशी टुरिजम एन्ड वाटर ट्रान्सपोर्टेसन प्रालिका सञ्चालक राजेन्द्र कार्कीले बताउनुभयो । उहाँका अनुसार कोशी नदीमा ठाउँ ठाउँमा एकदेखि डेढ फिटको गहिराइमै ढुङ्गा भेटिने गरेका छन् जसले गर्दा बाहिर पङ्खा हुने ओबिएमको पङ्खा ढुङ्गामा ठोक्किएमा इन्जिन बन्द हुने र दुर्घटनाको जोखिम बढी हुन्छ । दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ भने तीन जना हराइरहेको कोशी प्रदेशका प्रहरी नायब महानिरीक्षक शेखर खनालले जानकारी दिनुभयो । उहाँले खोजी कार्य जारीरहेको जानकारी दिनुभयो ।
न दर्ता, न अनुमति
कोशीमा जलयातायात सञ्चालनका लागि कुनै औपचारिक निकाय, स्थानीय प्रशासन वा ट्राफिक प्रहरीबाट आवश्यक प्राविधिक जाँच तथा अनुमति नलिइएको पाइएको छ । डिआइजी खनालले कम्पनी रजिस्ट्रारको कार्यालय र भ्याटमा कम्पनी दर्ता गरेकै भरमा ती बोट सञ्चालन भइरहेको जानकारी आएको बताउनुभयो । उहाँले भन्नुभयो, “बिनादर्ता अनुमति नलिई सञ्चालन गरिएको रहेछ भने सञ्चालकहरूलाई कारबाही गर्न निर्देशन दिइसकेका छौँ ।” उहाँले अब कानुनी प्रव्रिmया पूरा नगरी कुनै पनि बोट कोशी नदीमा चल्न नदिने बताउनुभयो । नाम खुलाउन नचाहने एक स्थानीय व्यवसायीका अनुसार १२ देखि १५ लाख रुपियाँमा ओबिएम बोट किनेर जोखिमपूर्ण नदीमा सोझै कुदाउने गरिएको छ । “यस्ता बोट कहाँ, कसरी र कस्तो पानीमा चलाउने भन्ने कुनै कानुनी व्यवस्थासमेत गरिएको छैन । प्रशासन र प्रहरीले पनि कुनै कडाइ गरेका छैनन् ।” उहाँका अनुसार केही सञ्चालकले यात्रुको सात लाख रुपियाँ बराबरको दुर्घटना बिमा गर्ने गरेको भए पनि त्यसको नियमन गर्ने निकाय स्पष्ट नहुँदा हचुवाकै भरमा जोखिमपूर्ण यात्रा गराउने गरिएको पाइएको छ ।


