२०८२ कार्तिक २४, सोमबारका मुख्य मुख्य समाचारहरु ।
१.निर्वाचन सफल बनाउन सञ्चारको योगदान महत्वपूर्ण -राष्ट्रपति रामचन्द्र पौडेल
राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्रको सुदृढीकरण गर्न सञ्चार माध्यमको योगदान महत्वपूर्ण रहने बताउनुभएको छ । सार्वजनिक सेवा प्रसारण (पिएसबी) नेपालको प्रथम वार्षिकोत्सव एवं सार्वजनिक सेवा प्रसारण र एनटिभी वल्र्डको शुभारम्भ समारोहलाई आइतबार सम्बोधन गर्दै राष्ट्रपति पौडेलले यस्तो बताउनुभएको हो । लोकतन्त्रको प्रतिफल जनताले प्राप्त गर्ने वातावरण निर्माणमा समेत सञ्चार माध्यमको भूमिका महत्वपूर्ण हुने बताउँदै राष्ट्रपति पौडेलले लोकतन्त्र स्थापनामा जनताको ठुलो बलिदानी रहेको पनि स्मरण गर्नुभयो । सुशासन र लोकतन्त्रलाई अझ उन्नत बनाउन फागुन २१ को निर्वाचन सफल बनाउन सबै सञ्चार माध्यमले ध्यान केन्द्रित गर्नुपर्ने उहाँको भनाइ थियो । समारोहमा राष्ट्रपति पौडेलले भन्नुभयो, “सुशासन र विकासप्रति युवापुस्ताबाट प्रकट भएको चाहनालाई ध्यान दिँदै तोकिएकै मितिमा प्रतिनिधि सभा सदस्यको निर्वाचनलाई सफल बनाउन सञ्चार माध्यमले अझ प्रभावकारी ढङ्गले काम गर्नु पर्छ । यो आजको आवश्यकता पनि हो ।” राष्ट्रपति पौडेलले देशको सकारात्मक परिवर्तन, विकासका पहल, सम्भावना र अवसरका बारेमा नागरिकलाई सूचित गर्ने महत्वपूर्ण जिम्मेवारी पूरा गर्न दत्तचित्त भएर लाग्न सञ्चार माध्यम तथा सञ्चारकर्मीलाई आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “सार्वजनिक सेवा प्रसारण सरकारी वा व्यावसायिक स्वार्थको सञ्चार संस्था होइन, यो नागरिकको संस्था हो, जसले सरकारको हस्तक्षेप र व्यावसायिक दबाबभन्दा माथि उठेर नागरिकको पक्षमा, राष्ट्रहितमा काम गर्नु पर्छ ।”
सत्य, तथ्य र विश्वसनीय सूचना प्राप्त गर्नु नागरिकको मौलिक अधिकार रहेको बताउँदै उहाँले सत्यतथ्यमा आधारित सूचना प्रवाह गर्नु सञ्चार माध्यमको कर्तव्य, जिम्मेवारी र दायित्व रहेको बताउनुभयो । पछिल्लो समय गलत सूचना, भ्रामक समाचार र अफवाह फैलिने क्रम बढ्दै गएकोप्रति पनि राष्ट्रपति पौडेलले चिन्ता व्यक्त गर्नुभयो ।
२. ‘खर्चिलो निर्वाचन र चुनावी बेथिति रोक्न जरुरी’
पहिलो संविधान सभाका चार सभासदसहितको टोलीले निर्वाचन कानुनमा ५० प्रतिशत महिला उम्मेदवार सुनिश्चित गर्न माग गरेको छ। रेणु चन्द, डा बिन्दा पाण्डे, अमृता थापामगर, सुनीलबाबु पन्तलगायतको टोलीले प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ नै ५० प्रतिशत महिला उम्मेदवार उठाउन कानुनमै सुनिश्चित गर्नुपर्ने माग गरेको हो। संविधानले समानुपातिक समावेशीको सिद्धान्त अवलम्बन गरेको भए पनि निर्वाचन कानुनले संविधानको यो मर्म आत्मसात् गर्न नसकेकाले अध्यादेश ल्याएर भए पनि सच्याउनुपर्ने टोलीको माग छ।
डा पाण्डेले भन्नुभयो, ‘कानुनमा बाध्यकारी व्यवस्था नभएकाले दलहरुले प्रत्यक्ष निर्वाचन प्रणालीमा महिलालाई टिकट नै दिँदैनन्। यही कारण संसदमा महिला प्रतिनिधित्व सन्तोषजनक हुन सकेको छैन। अब ५० प्रतिशत महिलालाई उम्मेदवार बनाउनुपर्ने अनिवार्य व्यवस्था हुनुपर्छ। त्यसभित्र दलित, जनजाति र अन्य अल्पसंख्यक समुदायको पनि प्रतिनिधित्व सुनिश्चित गर्नुपर्छ।’ प्रतिनिधिमण्डलमा उषाकिरण तिम्सेना, सम्झना पौडेल, प्रतीक्षा चापागाईँलगायतको पनि सहभागिता थियो। प्रधानमन्त्री कार्कीले प्रतिनिधिमण्डलले अघि सारेका मागबारे मन्त्रिमण्डलमा छलफल गर्ने वचन दिनुभयो। उहाँले निर्वाचन खर्चिलो हुन नदिने उपायतर्फ पनि सोच्नुपर्ने धारणा राख्नुभयो। खर्चिलो निर्वाचनका कारण पनि भ्रष्टाचार र चुनावी बेथिति बढेको उहाँको भनाइ थियो।
३.राजनीतिमा लाग्नेलाई बर्खास्त गर्ने चेतावनी शिक्षामन्त्री पुन ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले शिक्षक राजनीतिक गतिविधिमा संलग्न भएको पाइएमा पदबाट बर्खास्त गर्ने चेतावनी दिनुभएको छ । आइतबार आफैँले प्रेस विज्ञप्ति जारी गर्दै मन्त्री पुनले राजनीतिक दलका भ्रातृ सङ्गठन वा शुभेच्छुक संस्थाका रूपमा उल्लेख गरिएका शिक्षक, प्राध्यापक तथा कर्मचारीका विभिन्न सङ्घ सङ्गठनलाई मन्त्रालयले मान्यता नदिने निर्णय गरेको सार्वजनिक जानकारी गराउनुभएको छ । कसैलाई पनि पेसागत हकहित र अधिकारप्राप्तिका लागि सौदाबाजी गर्नेबाहेक अन्य राजनीतिक गतिविधिमा संलग्न हुने अधिकार नदिएको स्मरण गराउँदै मन्त्री पुनले जारी गर्नुभएको विज्ञप्तिमा भनिएको छ, “सरकारी सेवामा कार्यरत शिक्षक, प्राध्यापक तथा कर्मचारी व्यवस्थापनसम्बन्धी पेसागत ऐनले कर्तव्य, नैतिक दायित्व र आचरणको प्रबन्ध गरेको सर्वविदितै छ ।”
“राजनीतिक गतिविधिमा संलग्न भएको पाइएमा पदबाट बर्खास्त गर्न सकिनेसम्मको कानुनी कारबाही हुने व्यवस्था रहेको विषय ध्यानाकर्षण गराउँदछु, विज्ञप्तिमा भनिएको छ, “कुनै पनि पेसागत
ऐनले त्यस्तो सेवामा कार्यरत कसैलाई पनि पेसागत हकहित र अधिकारप्राप्तिका लागि सौदाबाजी गर्नेबाहेक अन्य राजनीतिक गतिविधिमा संलग्न हुने अधिकार दिएको छैन ।”
४.प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै हस्ताक्षर संकलनमा कांग्रेस पनि ।
‘प्रतिनिधि सभा विघटन हुँदाको पीडित को हो? र उनीहरू अदालतमा आएका छन् ? भनेर न्यायाधीशबाटै यसअघि सोधिएकाले संयुक्त हस्ताक्षर चलाएको नेपाली कांग्रेस समर्थक सांसदहरुले जनाएका छन । प्रतिनिधि सभा विघटन भएको दुई महिनापछि नेपाली कांग्रेसका निवर्तमान सांसदहरूले पनि पुनर्स्थापनाको माग राखेर हस्ताक्षर अभियान थालेका छन् । शुरुमा निर्वाचनको पक्षमा उभिएको कांग्रेसभित्र पुनर्स्थापनाको मागसहितको हस्ताक्षर सुरु हुँदा त्यसले एमालेको मागलाई बल पुगेको छ । एमालेले चुनाव अस्वीकार गर्दै पुनर्स्थापनाको माग अघि सारेर अब सडक संघर्षमा समेत उत्रिने तयारी गरिरहेको छ । यता सरकारले चुनावी काम तीव्र रुपमा अघि बढाइरहेको छ । यही बेला कांग्रेसका निवर्तमान सांसदहरू पनि त्यो मुद्दा लिएर हिँड्न लागेका हुन् । उहाँहरुले हस्ताक्षर पार्टीमा बुझाउँने र निर्णय चाहिँ पार्टीले नै एक भएर गरोस् भन्नेमा सांसदहरुको भनाई छ ।
५.शिक्षामन्त्रीलाई महासंघले भन्यो- सुत्ने बेला संविधान पढ्नू शिक्षक महासंघ
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले आइतबार शिक्षक, प्राध्यापक र कर्मचारीलाई राजनीति नगर्न र संघलाई गैरराजनीतक बनाउन निर्देशन दिए । मन्त्रीको निर्देशनलाई शिक्षकहरूले असन्तुष्टि जनाएका छन् । मन्त्री पुनको निर्देशन संविधानविपरीत भएको शिक्षकहरूको जिकिर छ । ‘मन्त्रीज्यूले शिक्षा ऐन, नियमावली र संविधान नपढेको देखिन्छ । बेलुका सुत्ने बेला संविधानको धारा ३४ पढ्नु पर्यो । श्रम ऐन पढ्नु पर्यो,’ नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले भने । संविधानको धारा ३४ मा श्रमको हक हुने भनिएको छ । उक्त धाराको उपधारा ३ मा प्रत्येक श्रमिकलाई कानुन बमोजिम ट्रेड युनियन खोल्ने, त्यसमा सहभागी हुने तथा सामूहिक सौदाबाजी गर्न पाउने हक हुने भनिएको छ ।
६.गृहमन्त्री-भारतीय राजदूत भेटमा दुर्गा प्रसाईंको दिल्ली भ्रमणबारे मुख्य चासो
गृहमन्त्री ओमप्रकाश अर्यालसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच आइतबार गृहमन्त्रालयमा भेट भयो । करिब ४५ मिनेट भएको भेटवार्तामा विविध विषयहरूमा छलफल भए । आउँदो २१ फागुनमा हुने भनिएको प्रतिनिधि सभाको चुनावदेखि शान्ति सुरक्षाका विषयमा छलफल भएको मन्त्रालयले बताएको छ । औपचारिक रुपमा मन्त्रालयले शान्ति सुरक्षा र चुनावी सुरक्षाका विषयमा छलफल भएको बताए पनि छलफलको अर्को केन्द्रमा थिए–दुर्गा प्रसाईं । जवाफमा राजदूत श्रीवास्तवले भारतमा प्रसाईंको कुनै राजनीतिक भेटघाट नभएको जवाफ दिएका थिए ।
पछिल्लो समय ७ मंसिरमा देशभर नै आन्दोलन गर्ने चेतावनी प्रसाईंले दिएपछि उनलाई सुरक्षा निकायले झनै नजिकबाट नियालेका छन् । संवादबाटै समस्या हल गर्ने बताउँदै २६ कात्तिकमा वार्तामा आउन भन्दै प्रसाईंलाई औपचारिक पत्र गृह मन्त्रालयले पठाएको छ । तर आइतबार एक कार्यक्रममा बोल्दै प्रसाईंले गृहमन्त्रीसँग छलफलमा नबस्ने, प्रधानमन्त्रीसँग मात्रै वार्ता हुने बताए ।
७.राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय, सानोठिमी, भक्तपुरद्वारा २०८२ साल असोज ७ र ८ गते सञ्चालन भएको कक्षा १२ को मौका (पूरक) परीक्षार्थीहरूको परीक्षाफल राष्ट्रिय परीक्षा बोर्डको मिति २०८२/०७/२३ गतेको निर्णयानुसार प्रकाशित गरिएको छ ।

