आज कार्तिक २ गतेका मुख्य मुख्य समाचारहरु
१. तिहारको पहिलो दिनस् आज काग तिहार मनाइँदै
नेपालीहरुको दास्रो महानचाड तिहारको आज पहिलो दिन काग तिहार मनाइँदै छ। प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिनबाट सुरु हुने पाँच दिने तिहार पर्व आज काग तिहारसहित सुरु भएको हो। बिहान सूर्योदयको समयमा त्रयोदशी तिथि परेकोले आज आइतबार शास्त्रसम्मत रूपमा काग तिहार पर्व मनाइँदै छ।
कागको महत्वको बारेमा वैदिक सनातन हिन्दु धर्ममा उल्लेख भए अनुसार कागलाई यमराजको सन्देशवाहकका रूपमा पूजा गरिन्छ। नेपाली समाजमा अझै पनि काग करायो भने पाहुना आउँछ भन्ने जनविश्वास रहेको छ। यस दिन बिहानै कागलाई आदरपूर्वक पूजा गरेर दही भात लगायतका मिठा परिकार अर्पण गर्ने चलन छ। ‘काकेन दधि भक्षितम्’ कागलाई दही भात खुवाएमा उसले यमराज समक्ष राम्रो सन्देश पुर्याउँछ भन्ने धार्मिक विश्वास छ।

२. चुनावी सुरक्षा रणनीति बनाउन आज आइतबार गृहमा केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै ।
हिजो शनिवार राष्ट्रपति रामचन्द्र पौडेलको आह्वानमा प्रधानमन्त्री र मन्त्रिपरिषद्का सदस्यहरूको उपस्थितिमा चारवटै सुरक्षा निकायका प्रमुखहरूसँग शीतलनिवासमा उच्चस्तरीय छलफल भएको थियो। यसै क्रममा गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा आज आइतबार केन्द्रीय सुरक्षा समितिको बैठक बस्ने तयारी भएको छ। उक्त समितिमा गृह तथा रक्षा सचिवका साथै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख तथा प्रतिनिधि सहभागी हुनेछन्। जसले आगामी फागुन २१ को चुनावकोलागि सुरक्षा रणनीति तय गर्ने छ ।
३.रास्वपा सचिवालयमा ४ नेता मनोनीत
राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले चार नेतालाई सचिवालय सदस्यमा मनोनीत गरेको छ । हिजो बसेको भर्चुअल केन्द्रीय समिति बैठकले सोबिता गौतम , गणेश पराजुली , शिशिर खनाल र हरि ढकाललाई सचिवालय सदस्य मनोनीत गरेको एक केन्द्रीय सदस्यले जानकारी दिए । आमन्त्रित सचिवालय सदस्यको रूपमा रहेका उनीहरू चारै जनालाई सचिवालय सदस्य बनाइएको हो ।
४. बागमतीका मुख्यमन्त्री र मन्त्री नै सेटिङमा, ट्रायल सेन्टर थप्न खुलेआम घुस संकलन
सङ्घीय सरकार खर्च कटौतीको चर्को अभियानमा जुटेका बेला बागमती प्रदेश सरकार भने मुख्यमन्त्रीकै पहलमा सवारी चालक अनुमति पत्र (लाइसेन्स) को ट्रायल सेन्टर थप्न मरिहत्ते गरिरहेको छ । मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ, श्रम, रोजगार तथा यातायात मन्त्री जयराम थापा र मन्त्रालयका सचिव वीरेन्द्रदेव भारतीको मिलेमतोमा आवश्यक नै नभएका ठाउँमा थप ट्रायल सेन्टरहरु खोल्न जबर्जस्ति गरिएको छ । यसमा काभ्रेका कार्यालय प्रमुख राजु मैनाली फिल्ड कमाण्डरका रुपमा क्रियाशील छन् । मन्त्रीका स्वकीय सचिव विक्रम श्रेष्ठले मैनालीसँगै मिलेर दबाब बढाइरहेका छन् । स्रोत नेपाल प्रेस डट कम
५. देशमा भदौ २३ र २४ गते भएको आन्दोलन पछि परिस्थिति सामान्य हुँदै, विभिन्न स्थानबाट सेना फिर्ता ।
‘जेनजी’ प्रदर्शनपछि ६२ वटा कारागार र महत्त्वपूर्ण संरचनाको सुरक्षामा खटिइएको नेपाली सेनाको फौज स्थिति सामान्य हुँदै गएपछि ४१ स्थानबाट फिर्ता भएको छ । गत भदौ २३ र २४ को प्रदर्शनपछि उत्पन्न परिस्थितिमा उपत्यकाभित्र पाँच र उपत्यका बाहिर ५७ गरी कूल ६२ वटा कारागार तथा महत्त्वपूर्ण संरचनाको सुरक्षार्थ सेना खटिएको थियो ।
६.इजरायली आक्रमणबाट गाजामा एकै परिवारका ११ जनाको मृत्यु ।
गाजाको उत्तरी क्षेत्रमा इजरायली ट्यांकबाट गोली चल्दा ११ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरु एकै परिवारका सदस्य रहेको हमास प्रशासित सिभिल डिफेन्सले जनाएको छ । सिभिल डिफेन्सका अनुसार यो घटना शुक्रबार रातिको हो । गाजा शहरको जायतुन क्षेत्रमा एकै परिवारका सदस्यहरु बस चढेर आफ्नो घरको अवस्था हेर्न जाँदै गरेका बेला इजरायली ट्यांकबाट गोली चलेको थियो ।
७. अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पद्धारा युक्रेन र रुसलाई युद्ध रोक्न र शान्ति स्थापना गर्न आग्रह
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीसँग ह्वाइट हाउसमा लामो भेटवार्तापछि युक्रेन र रुसलाई हालको सीमारेखामा युद्ध तुरुन्त रोक्न र त्यसलाई अन्त्य गर्न आग्रह गर्नुभएको छ । धेरै रगत बगिसकेको छ, अब दुवै पक्षले जितेको दाबी गर्न सक्छन् तर इतिहासले त्यसको निर्णय गर्ने छ,” ट्रम्पले भन्नुभयो, “तपाईंहरू जहाँ हुनुहुन्छ, त्यहीँ रोकिनुहोस्, आफ्ना परिवारमा फर्कनुहोस् र शान्ति कायम राख्नुहोस् ।” यसअघि केही हप्ताअघि ट्रम्पले युक्रेनले रुसबाट कब्जा गरेको सम्पूर्ण भूभाग फिर्ता लिन सक्ने विश्वास व्यक्त गर्नुभएको थियो तर हालको अभिव्यक्तिले उहाँको दृष्टिकोणमा केही परिमार्जन आएको अन्तर्राष्ट्रिय समाचार संस्था एपीले जनाएको छ । जेलेन्स्कीले भन्नुभयो, “अहिले नै युद्ध रोकिनु आवश्यक छ र त्यसपछि वार्ता अगाडि बढाउनु पर्छ ।” तर ट्रम्पले युक्रनलाई भूभाग फिर्ता दिन दबाब दिएकोसम्बन्धी प्रश्नमा उहाँले स्पष्ट जवाफ दिनुभएन । ट्रम्पले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँगको टेलिफोन वार्तापछि युक्रेनलाई लामो दुरीका टोमाहक
क्षेप्यास्त्र उपलब्ध गराउने विषयमा केही अनिच्छा देखाउनुभएको छ ।
८. तनहुँ कारागारमा भाइरल ज्वरोको सङ्क्रमण फैलिँदै
तनहुँ कारागारमा भाइरल ज्वरोको सङ्क्रमण फैलिँदै जाँदा कैदीबन्दी स्वास्थ्य समस्यामा परेका छन् । पुरुष कैदीबन्दी बस्ने ब्लक भाइरल ज्वरोबाट बढी प्रभावित रहेको जेलर टेकप्रसाद भट्टराईले जानकारी दिनुभयो । भट्टराईका अनुसार पुरुष राखिएको ब्लकका कैदीबन्दीमा ज्वरो, टाउको दुखाइ, रुघाखोकी र ज्वरोका लक्षण देखिएपछि तत्कालै प्रदेश अस्पताल दमौलीका चिकित्सक टोली बोलाएर स्वास्थ्य परीक्षण र आवश्यक उपचार गरिएको हो । जेलर भट्टराईले भन्नुभयो, “सुरुवाती लक्षणका आधारमा यो भाइरल ज्वरो भएको अनुमान गरिएको छ । सङ्क्रमित कैदीबन्दीलाई विश्राम दिइएको छ र स्वास्थ्यकर्मीको निरन्तर निगरानीमा राखिएको छ ।”

