२०८२ जेठ १४।
निजामती सेवा ऐनको दफा ६१ अनुसार अनुशासनहीन कार्य गर्ने कर्मचारीलाई सेवाबाट हटाउन सकिने व्यवस्था छ । दफा ६४ मा यस्तो कारबाहीअघि निलम्बन गरी जाँचबुझ गर्न सकिने व्यवस्था छ।सर्वोच्च अदालत प्रशासनले शाखा अधिकृत महिमानसिंह विष्टलाई अनुशासनहीन कार्य गरेको आरोपमा तत्काल निलम्बन गरी विभागीय कारबाही सुरु गरेको छ। उनलाई स्पष्टीकरण सोध्दै निलम्बन गरिएको हो ।
विष्टविरुद्ध गलत सूचना दिएको र लिखतसम्बन्धी कसुर गरेको अभियोगमा जिल्ला अदालतमा मुद्दा चलिरहेको छ। उनलाई वैशाख १७ गते पक्राउ गरिएको थियो र जेठ ५ गते एक लाख रुपैयाँ धरौटीमा रिहा गरिएको थियो। जिल्ला अदालतबाट छुटेपछि सर्वोच्च पुगेका उनलाई प्रशासनले निलम्बनको पत्र थमाएको हो । टीकापुर हत्याकाण्डमा जन्मकैदको सजाय पाएका रेशम चौधरीलाई विष्टले लेखेको अनधिकृत पत्रका आधारमा वैशाख १७ गते ५ घण्टा डिल्लीबजार कारागारमा थुनिएको थियो। यसले नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीबीचको एकता घोषणा कार्यक्रम प्रभावित भएको थियो। सर्वोच्च प्रशासनले अनधिकृत पत्र लेखेको भन्दै थप कारबाहीका लागि प्रहरीलाई जिम्मा लगाएको थियो। टीकापुर हत्याकाण्डमा मारिएका सुरक्षाकर्मीकी पत्नी शारदा कडायतले राष्ट्रपतिबाट भएको माफी बदर गर्न माग गर्दै सर्वोच्चमा दायर गरेको रिट अझै विचाराधीन छ, तर सुनुवाइ भएको छैन।

