नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा.विश्वनाथ पौडेल ।
२०८२ जेठ ०६ ।
लामो समयदेखि निमित्तको भरमा रहेको नेपाल राष्ट्र बैंकले आज १८औं गभर्नरमा विश्वनाथ पौडेललाई पाएको छ । आज मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले पौडेललाई गभर्नरमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । उपप्रधान एंव अर्थमन्त्री विष्णु पौडेल संयोजक रहेको समितिले गभर्नरका लागि तीन जनाको नाम सिफारिस गरेको थियो । मंगलबार बसेको सिफारिस समितिको बैठकले विश्व पौडेल, निलम ढुंगाना तिम्सिना र दिनेश भट्टराईको नाम सिफारिस गरेको थियो । सिफारिसअनुसार मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले पौडेललाई गभर्नर नियुक्त गरेको हो । निवर्तमान गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल सकिएसँगै गत चैत २५ गतेदेखि राष्ट्र बैंकमा गर्भनर पद खाली छ ।
गभर्नर नियुक्तिको विषयमा दुई महिनादेखि सत्तारुढ दल कांग्रेस र एमालेका निम्ति पेचिलो विषय बनेको थियो । गभर्नरमा नियुक्त पौडेलले अमेरिकाबाट अर्थशास्त्रमा विद्यावारिधि गरेका छन् । उनी राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्षसमेत रहेका थिए । काठमाडौं विश्वविद्यालयका अध्यापकसमेत रहेका उनीसँग अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)को आर्थिक सल्लाहकारका रूपमा काम गरेको अनुभव पनि छ ।


