१६ चैत्र २०८१ ।
एक प्रदर्शनकारी र एक पत्रकारको दुःखद निधन ।
राजावादी समूहले गरेको प्रदर्शनले उग्ररूप लिँदा एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजक र गोली लागेका कीर्तिपुरका सबिन महर्जनको मृत्यु भएको गृह मन्त्रालयबाट पुष्टि ।
दुर्गा प्रसाइ फरार, रविन्द्र मिश्र र धवल शम्सेर जबरा पक्राउ, राजावादीका संयोजक नवराज सुवेदी घरमै नियन्त्रणमा ।
रविन्द्र मिश्र र धवल शम्सेर जबरालाई पक्राउ गरि काठमाण्डौ प्रहरी परिसरमा राखिएको छ । हिजो भएको राजावादी आन्दोलनका नाममा अराजकता मच्चाएको, आगजनी तथा लुटपाट गरेको अभियोगमा उनीहरूलाई नियन्त्रणमा । बी एन्ड बी अस्पतालमा घाइतेहरू भेटेर फर्किने क्रममा प्रहरीले उनीहरुलाई पक्राउ गरेको बताइएको छ ।
राजसंस्था पुनस्थापनाका लागि जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीलाई प्रहरीले घरमै नियन्त्रणमा राखेको छ । प्रहरी अधिकृतका अनुसार नवराज सुवेदीको स्वास्थ्य अवस्थाका कारण प्रहरी कार्यालयमा नल्याइ आफ्नै निवासमा नियन्त्रणमा राखिएको छ ।
हट्यो तीनकुने क्षेत्रको कर्फ्यु ।
शुक्रबार अपराह्न ४ः२५ देखि तीनकुनेमा चार किल्ला तोकेर जारी भएको कर्फ्यु आदेश शनिबार बिहान ७ बजेपछि हटेको हो। जिल्ला प्रशासन कार्यालय काठमाडौंले सूचना जारी गर्दै बिहान ७ बजेसम्म जारी भएको कर्फ्यु आदेश स्थगत गरिएको जानकारी दिएको छ। शुक्रबार तीनकुने क्षेत्रमा राजावादीहरूको प्रदर्शन हिंसात्मक बनेपछि पहिलो चरणमा अपराह्न ४ः२५ बजेदेखि राति १० बजेसम्म कर्फ्यु आदेश जारी भएको थियो। गौशालादेखि एयरपोर्ट, गैरीगाउँ, तीनकुने हुँदै कोटेश्वर, कोटेश्वरदेखि जडिबुटी पुल, कोटेश्वरदेखि बालकुमारी पुल, बानेश्वरदेखि शंखमुल पुल, गौशालाचोकदेखि पुरानो बानेश्वर हुँदै नयाँ बानेश्वर चोकसम्म कर्फ्यु आदेश जारी भएको थियो।



