११ चैत, काठमाडौं ।
आज बसेको मन्त्रिपरिषद् बैठकले कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरी नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई पुनः नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको छ । उनी विद्युत प्रसारण लाइनका विज्ञ मानिन्छन् र अमेरिकी सहयोग कार्यक्रम मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अन्तर्गत तयारी चरणको परियोजनामा समेत संलग्न थिए। उहाँलाई यस अगाडी २०७७ माघ २६ गते बसेको मन्त्रिपरिषद् बैठकले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक पदमा नियुक्त गरेको थियो।
नेप्सेको सिइओमा नारद लुइँटेल नियुक्त
सरकारले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा सर्लाही जिल्ला निवासी नारद लुइँटेल नियुक्त गरेको छ । मन्त्रिपरिषदको सोमबार साँझ बसेको बैठकले लुइँटेललाई उक्त पदमा नियुक्त गरेको बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिए। सरकारले नेप्सेका प्रमुख कार्यकारी अधिकृतको पदमा खुला प्रतिस्पर्धाद्वारा पदपूर्ति गर्न तीन सदस्यीय समिति गठन गरेको थियो।उक्त पदको संक्षिप्त सूचीमा छानिएका ५ जनालाई चैत ६ गते बुधवार अन्तर्वार्ता र प्रस्तुतिका लागि बोलाइएको थियो। सिइओका लागि आवेदन दिएका १० जनामध्ये संक्षिप्त सूचीमा ५ जना परेका हुन्।संक्षिप्त सूचीमा झापाका चुडामणि चापागाईं, सर्लाहीका नारद कुमार लुइँटेल, इलामका पूर्णबहादुर आचार्य, नुवाकोटका बद्रिप्रसाद प्याकुरेल र पाल्पाका हेमन्त बस्याल परेका थिए।
उनले त्रिभुवन विश्वविद्यालयबाट वाणिज्य विषयमा स्नातकोत्तर गरेका छन्। विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरूमा नेतृत्वदायी भूमिकामा काम गरेको अनुभव उनीसँग छ। २०७२ देखि २०७६ सालसम्म उनले तारागाउँ विकास समितिको अध्यक्षका रूपमा काम गरेका थिए। यसअघि, २०७८ फागुनमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले उनलाई तारागाउँ विकास समितिको सदस्य सचिवमा नियुक्त गरेका थिए। यस पदमा उनले चार वर्षका लागि नियुक्ति पाएका थिए।
विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक र नेप्सेका प्रमुख कार्यकारी नियुक्त ।
2 Mins Read

