आज मिति २०८२ मंसिर १९ गते बिहानका मुख्य मुख्य समाचारहरु
१. प्रधानमन्त्रीको आह्वानमा प्रमुख पाँच राजनीतिक दल, सरकार, निर्वाचन आयोग र सुरक्षा निकाय बिच छलफल हुदै ।
प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा निर्वाचनको विषयमा छलफल गर्न आज दिउँसो ४ बजे सर्वपक्षीय बैठक बस्न लागेको छ । उक्त बैठक बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बस्ने छ । बैठकमा सरकार, प्रमुख पाँच राजनीतिक दल, निर्वाचन आयोग र सुरक्षा निकायका प्रमुखहरुको उपस्थित रहने छ ।
प्रधानमन्त्री कार्कीका प्रेस संयोजक रामबहादुर रावलका अनुसार बैठकमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), निर्वाचन आयोगका पदाधिकारी र सुरक्षा निकायका प्रमुखहरुलाई आमन्त्रण गरिएको छ ।
२. सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा जनकपुर बोल्ट्स र लुम्बिनी लायन्स भिड्दै ।
त्रिवि मैदान कीर्तिपुरमा शुक्रबार अपराह्न ४ बजे साविक विजेता जनकपुरले लुम्बिनीसँग खेल्नेछ। प्रतियोगितामा लुम्बिनीले लिग चरणको अन्तिम खेल खेल्दै छ। लुम्बिनी अघिल्लो ६ मध्ये ३ खेल जितेर प्लेअफ नजिक छ। अंक तालिकामा ६ अंक जोडेको लुम्बिनीलाई आजको खेल जित्नै पर्ने दबाब छ। खेल जिते उसले प्लेअफमा स्थान सुरक्षित गर्नेछ। लुम्बिनीले खेल जिते प्रतियोगिताको प्लेअफ समीकरण पनि पूरा हुनेछ।
३. मधेशमा नयाँ सरकार गठनका लागि आज दाबी पेश गरिँदै
सर्बोच्च अदालतको परमादेश पछि मंसिर १७ गते सम्ममा मधेसका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिन नसकेपछि राजिनामा दिए पछि रिक्त हुन गएको मुख्यमन्त्री पदमा आज संविधानको धारा १६८ को उपधारा २ बमोजिम दाबी पेश गर्नुपर्ने छ ।
मधेश प्रदेशमा नयाँ मुख्यमन्त्रीको दाबी पेश गर्न ७ दलले तयारी गरेका छन् । हिजो एमालेबाहेकका ७ दलीय गठबन्धनको लामो छलफल लगभग सहमतिमा पुगेको नेताहरूले बताएका छन् । नेपाली कांग्रेस, माओवादी, जसपा नेपाल, जनमत, लोसपा, नेकपा एस र नाउपाले संयुक्त गठबन्धन बनाएर मुख्यमन्त्री दाबी गर्न लागेका हुन् । प्रदेश प्रमुखले सरकार गठनका लागि गरेको आव्हानको समय सीमा आजसम्म छ । गठबन्धनमा लोसपाका जितेन्द्र सोनल र कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव मुख्य दाबेदार छन् । यहाँ एमालेका सभामुख रामचन्द्र मण्डल पदमुक्त भएसँगै एक सभामुख पनि खाली छ । जसपा सभामुख लिने दाउमा छ । १०७ जना सांसद रहेको मधेशमा सरकार बनाउन बहुमतका लागि ५४ जना चाहिन्छ । गठबन्धनसँग ७३ जना सांसद छन् ।
४.अब नेपालमा पनि भारतीय रुपैयाँ ५०० र १००० का नोटहरु चल्ने ।
भारतीय रिजर्भ बैंकले भारतीय रुपैयाँ ५०० र १००० का नोट नेपालमा चलनचल्तीमा ल्याउन अनुमति दिएको छ । अब नेपाल राष्ट्र बैंकले परिपत्र जारी गरी ठूला दरका भारु सटही गर्न पाइनेछ। नेपालमा एक सय रुपैयाँका नोटहरु पहिलानै चलन चल्तीमा रहेको थियो । यस व्यवस्थाले नेपाल–भारत दुवै देशका नागरिकहरुलाई सहज हुने आशा गरिएको छ भने नक्कली नोटको खेल पनि हुनसक्ने अनुमान गरिएको छ ।
५.विशेषज्ञ चिकित्सकको परीक्षाफल प्रकाशित
नेपाल मेडिकल काउन्सिलले लिएको विशेषज्ञ चिकित्सकको लाइसेन्स परीक्षामा ७५.२५ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् । काउन्सिलले विभिन्न २९ विधामा विशेषज्ञ लाइसेन्स परीक्षा लिएको थियो । काउन्सिलका प्रवक्ता तथा रजिस्ट्रार डा. सतीशकुमार देवले विशेषज्ञ परीक्षाका लागि विभिन्न २८ विधामा परीक्षा लिएकोमा ७५.२५ प्रतिशत उत्तीर्ण भएको जानकारी दिनुभयो । उहाँले परीक्षाका लागि फाराम भरेका २०४ जनामध्ये दुई जना अनुपस्थित रहेको जानकारी दिँदै परीक्षामा सम्मिलित २०२ जनामध्ये १५२ जना अर्थात् ७५.२५ प्रतिशत चिकित्सक उत्तीर्ण हुन सफल भएको बताउनुभयो । परीक्षामा सहभागी ५० जना चिकित्सकले चिकित्साशास्त्रतर्फको स्नातकोत्तर तह परीक्षा पास गरे पनि विशेषज्ञ लाइसेन्स परीक्षा अनुत्तीर्ण भएका छन् । नेपाल मेडिकल काउन्सिलले विशेषज्ञसहित स्नातक तह (एमबिबिएस र बिडिएस) चिकित्सकको नाम दर्ता (लाइसेन्स) परीक्षा वर्षको तीन पटक लिने गरेको छ ।
६. गृह मन्त्रालयले बढायो हाइप्रोफाइल व्यक्तिहरूका निवास वरपर सुरक्षा निगरानी
अख्तियार प्रमुखसहित १० जनालाई धम्की दिँदै सामाजिक सञ्जालमा भिडियो पोस्ट गरिएको छ। यस पछि काठमाण्डौ उपत्यका प्रहरी कार्यालयले १० जना हाइप्रोफाइल व्यक्तिहरूका निवास वरपर सुरक्षा निगरानी गर्न सर्कुलर गरिएको छ । उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले बिहीबार ती १० जनाको निवासस्थान, भ्रमण मार्ग र कार्यक्रमस्थलमा निगरानी बढाउन सर्कुलर गरेको हो । ती युवकले लोकमान सिंह कार्की, गोपाल बहादुर खड्का, रमेश लेखक, बालकृष्ण खाँण, आरजु राणा, ओमविक्रम राणा, हेमबहादुर गुरुङ, रमेश चन्द ठकुरी र दुर्गा प्रसाईंलाई ज्यान मार्ने धम्की दिएका हुन् ।

