नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बन्न यी नियम तथा मापदण्डहरु पुरा गर्नुपर्ने ।
२०८२ मंसिर १६, मंगलबार ।
नेपाली कांग्रेसका पाटी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज एक परिपत्र गरी उम्मेदवारको मापदण्डसमेत उल्लेख गरिएको छ। नेपाली कांग्रेसले उम्मेदवारका लागि मापदण्ड बनाएर प्रदेश, जिल्ला र प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिमा परिपत्र गरेको छ। माघ ११ गते राष्ट्रिय सभा र फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन हुँदैछ। त्यसका लागि पार्टीका तल्ला निकायबाट उम्मेदवार आकांक्षीको नाम मागेर सिफारिस गर्न कांग्रेसले भनेको छ।
कांग्रेसले प्रत्येक क्षेत्रबाट ३ जना आकांक्षी उम्मेदवारको नाम मात्रै सिफारिस गर्न भनेको छ। जातीय विभेद, घरेलु हिंसा, बाल श्रम वा अन्य कुनै पनि प्रकृतिका सामाजिक विसंगतिमा दोषी ठहर भएकाहरू उम्मेदवार बन्न नपाउने कांग्रेसको मापदण्डमा उल्लेख छ। २०७९ को चुनावमा प्रतिनिधि सभा र प्रदेश सभातर्फ समानुपातिक सांसद बनेका तथा बन्द सूचीमा नाम रहेकाहरूलाई पनि कांग्रेसले यसपालि उम्मेदवार नबनाउने भएको छ। साथै २०७९ मा सम्पन्न स्थानीय तह निर्वाचनमा पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिहरूलाई उम्मेदवार सिफारिस गर्न पाइने छैन भनेर कांग्रेसले परिपत्र पनि गरेको छ।
यस्ता छन् कांग्रेसले तोकेका उम्मेदवार मापदण्डस्
लेवी नबुझाउनेलाई कुनै पनि तहको उम्मेदवार नबनाउने
जातीय विभेद, घरेलु हिंसा, बाल श्रम वा अन्य कुनै पनि प्रकृतिका सामाजिक विसंगतिमा दोषी ठहर नभएका व्यक्ति हुनुपर्ने,
२०७९ सालको निर्वाचनमा प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य पदमा समानुपातिकतर्फबाट निर्वाचित भएको व्यक्तिहरु आगामी २०८२ फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य समानुपातिकतर्फको उम्मेदवारका लागी अयोग्य,
तोकिएको उम्मेदवारको संख्याभन्दा बढी नाम सिफारिस गर्न पाइने छैन।
प्रतिनिधि सभा प्रत्यक्ष, समानुपातिक र राष्ट्रिय सभा सदस्य पदमध्ये कुनै एक व्यक्ति एक पदका लागि मात्र सिफारिस गर्नुपर्नेछ।
प्रतिनिधि सभा सदस्य पदको उम्मेवारको लागि नेपाली नागरिकताको प्रमाणपत्र र मतदाता परिचय पत्रको प्रतिलिपी पेस गर्नु पर्नेछ।
प्रतिनिधि सभा समानुपातिक तर्फका सिफारिस भएका उम्मेदवारको हकमा नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपी, मतदाता परिचय पत्रको प्रतिलिपी, मतदाता नामावली नाम समावेश भएको निस्सा, उम्मेदवार हुनका लागि पार्टी केन्द्रबाट तोकिएको प्रतिवद्धता पत्र र निर्वाचन आयोगले तोकेको स्वघोषणा पत्र, उम्मेदवारको वैयक्तिक विवरण र सो घोषणा गरिने सम्पत्ति विवरण फारममा हस्ताक्षर गरेको हुनु पर्नेछ।
२०७९ मा सम्पन्न स्थानीय तह निर्वाचनमा पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिहरूलाई उम्मेदवार सिफारिस गर्न पाइने छैन।
पार्टी विधानको धारा ६९ बमोजिम पार्टीका क्रियाशील सदस्य, विभिन्न तह र जिम्मेवारीमा रहेका पदाधिकारी र सदस्यहरूले तोकिए बमोजिमको सहयोग रकम (लेवी) तोकिए बमोजिमको पार्टी निकायमा अनिवार्य बुझाउनु पर्नेछ।
नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बन्न यी नियम तथा मापदण्डहरु पुरा गर्नुपर्ने ।
2 Mins Read

