२०८२ मंसिर ७, आइतबारका मुख्य मुख्य समाचारहरु ।
१.आज हुने भनिएको दुर्गा प्रसाईं समूहको आमहड्ताल फिर्ता ।
हिजो शनिबार बेलुका अबेर सम्म सरकार र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपालका प्रतिनिधिबिच बालुवाटारमा वार्ता भएको थियो । वार्तामा महाअभियानले उठाएका २७ बुँदे मागहरूका सन्दर्भमा विस्तृत छलफल भएको छ। छलफलका क्रममा वर्तमान शान्ति सुरक्षाको अवस्थासमेतलाई ध्यानमा राखी नागरिक बचाउ महाअभियानले उठाएका मुद्दाहरूको सम्बोधनका लागि सरकारले निरन्तर छलफल, वार्ता र सहजीकरण गर्दै जाने सहमति भएको छ । महाअभियानले २०८२ मङ्सिर ७ गतेबाट हुने गरी घोषणा गरेको नेपाल बन्द, अनिश्चितकालीन आम हड्तालका कार्यक्रमलाई फिर्ता लिन सहमति जनाएको छ। वार्तामा महाअभियानका तर्फबाट सचिव प्रेमदीप लिम्बु नेतृत्वको टोली सहभागी थियो। साथमा अधिवक्ताद्वय विनोदमणि भट्टराई, लवण न्यौपाने र डा नीराजन प्रसाईँ सहभागी थिए । सरकारका तर्फबाट गृहमन्त्री ओमप्रकाश अर्याल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल र सल्लाहकार गोविन्दनारायण तिमिल्सिनालगायतको उपस्थिति थियो। अर्को चरणको वार्ता महाभियानको नेतृत्वसहित यथाशीघ्र गर्ने समझदारी भएको छ।
२. आगामी फागुन २१ गते हुने चुनावमा कांग्रेसले भाग लिने, निर्वाचन आयोगमा दल दर्ताको जिम्मा मुख्य सचिवलाई ।
नेपाली कांग्रेसले मुलुकमा उत्पन्न विषम राजनीतिक परिस्थितिका बीच आगामी फागुन २१ गते तोकिएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा भाग लिने औपचारिक निर्णय गरेको छ । शनिबार कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा बसेको केन्द्रीय कार्यसमितिको बैठकले ५ बुँदे निर्णय सार्वजनिक गर्दै वर्तमान राजनीतिको निकास निर्वाचन नै भएको निष्कर्ष निकालेको हो । बैठकले आगामी माघ ११ गते हुने राष्ट्रिय सभा र फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि दल दर्ता गर्ने जिम्मेवारी मुख्य सचिव कृष्ण पौडेललाई दिएको छ ।
३.ब्राजिलका पूर्व राष्ट्रपति बोल्सोनारो पक्राउ
ब्राजिलका पूर्व राष्ट्रपति जैर बोल्सोनारो पक्राउ परेका छन् । बोल्सोनारोले आफ्नो २७ वर्षको जेल सजाय सुरु गर्नुभन्दा केही दिनअघि यो कारबाही गरिएको बताइएको छ ।
४. एनपिएल सिजन–२ क्रिकेटमा आज कुनै खेल छैनन् ।
हिजो बिहान ११.४५मा भएको पहिलो खेलमा कर्णाली एक्स विरुद्ध लुम्बिनी लायन्स बिच भएको थियो उक्त खेलमा कर्णाली एक्सले आफ्नो पक्षमा पारेको थियो । लुम्बिनीले दिएको १५७ रनको लक्ष्य कर्णाली एक्सले १२.२ ओभरमै १ विकेट मात्र गुमाएर पूरा गर्दा क्रिकेटर मार्क वाट नायक बने । उनले ४४ बल खेल्दा चौका भन्दा दोब्बर संख्यामा छक्का प्रहार गरे । ६ चौका र १२ छक्का प्रहार गर्दै उनले ९६ रन बाउण्ड्रीबाटै जोडेका थिए ।
यसै गरि हिजै भएको दोस्रो खेलमा विराटनगरले काठमाण्डु गोर्खाजलाई ५ विकेटले पराजित ग¥यो । विराटनगर किंग्सले दिएको १३५ रनको लक्ष्य विराटनगरले १७ ओभर एक बलमा ५ विकेट गुमाएर पूरा ग¥यो । विराटनगरका लागि जर्ज मुन्सेले सर्वाधिक ३६ रन बनाए । लोकेश बलमे १४, मार्टिन गुप्टिल २५, बसिर अहमद १९ र नरेन भट्टले २४ रनको योगदान दिए । शुभम रञ्जाने ६ र कप्तान सन्दीप लामिछाने ९ रनमा अविजित रहे । बलिङमा काठमाण्डुका शाहव आलमले २, करण केसी, गेह्रार्ड एरामस र सन्तोष यादवले एकएक विकेट लिए । यसै गरी भोली २०८२ मंसिर ८, सोमबार पहिलो खेल ११.४५ मा जनकपुर बोल्ट्स र विराटनगर किंग्स बिच हुनेछ भने दोस्रो खेल साँझ ४.०० बजे सुदूरपश्चिम रोएल्स र कर्णाली याक्स बिच हुने छ ।
५. प्रतिनिधिसभा निर्वाचनमा गत निर्वाचनको भन्दा ८ लाख ३७ हजार ९४ बढी मतदाता ।
मतदाताको संख्या एक करोड ९० लाख ५ हजार ३२४ पुगेको छ । २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा एक करोड ७९ लाख ८८ हजार ५७० जना मतदाता थिए ।
६. अमेरिकाले गर्यो जी–२० शिखर सम्मेलन बहिष्कार
अफ्रिकी भूमिमा पहिलो पटक आयोजना भएको समूह–२० (जी–२०) शिखर सम्मेलन शनिबार अत्यन्तै महत्वाकाङ्क्षी र दीर्घकालीन चुनौतीहरूमा केन्द्रित एजेन्डासहित आरम्भ भएको छ । विश्वका धनी राष्ट्रहरू र प्रमुख उदीयमान अर्थतन्त्रका शीर्ष नेताहरू दक्षिण अफ्रिकाको ऐतिहासिक सेबेटो टाउनसिपनजिकको प्रदर्शनी केन्द्रमा भेला हुँदै गरिब तथा संवेदनशील राष्ट्रहरूलाई दसौँ वर्षदेखि पिरोलिरहेका समस्यामा ठोस प्रगति गर्ने प्रयासमा जुटेका छन् । तर दक्षिण अफ्रिकाद्वारा अगाडि सारिएका धेरै प्राथमिकता– विशेष गरी जलवायु परिवर्तन र विकासशील राष्ट्रमाथि यसको गहिरो प्रभाव, अमेरिकी
प्रतिरोधका कारण कूटनीतिक तनावको केन्द्रविन्दु बनेका छन् ।

