१. आयोग र राजनीतिक दलबिच निर्वाचनबारे विमर्श
राजनीतिक दलहरूले सुरक्षा निश्चितताको प्रत्याभूति भए आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनमा सहभागी हुने प्रतिबद्धता व्यक्त गरेका छन् । सङ्घीय संसद्, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गर्ने प्रमुखसहित सबैजसो राजनीतिक दलले सरकारले सुरक्षा प्रत्याभूति हुने वातावरण बनाउन उद्यत नहुँदा निर्वाचनको वातावरण बन्न नसकेको टिप्पणी गरेका हुन् । निर्वाचन आयोगले बिहीबार गरेको प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ को सम्बन्धमा राजनीतिक दलसँग छलफल तथा अन्तव्रिर्mया कार्यव्रmमका सहभागी दलका प्रतिनिधिले निर्वाचनको वातावरण बनाउने काम सरकारको रहेको तर सरकार फरक ढङ्गले हिँडेको भन्दै आलोचना गरे । नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले ‘ट्र्याक’ बाहिर गएको देशलाई सही मार्गमा ल्याउन निर्वाचन बलियो आधार भएको र निर्वाचनको विकल्प नभएको बताउनुभयो । उहाँले भन्नुभयो, “तर सरकार प्रतिशोधले ग्रसित भएको व्यवहार गर्दै छ । दलका नेताको राहदानी रोक्ने, बाहिर जान रोक्ने तर हतियार लुट्ने अपराधीलाई नचलाउने सरकारको रबैयाले निर्वाचनको लय समात्दैन ।” नेकपा (एमाले) का उपाध्यक्ष गुरु बरालले दलको नेतालाई सीमाबन्दी गर्ने कदम निर्वाचनका लागि बाधक भएको दाबी गर्नुभयो । उहाँले सरकारसँग राजनीतिक दलले खुलेर संवाद गर्ने वातावरण बन्नुपर्ने बताउनुभयो । उपाध्यक्ष बरालले सर्वोच्च अदालतमा दर्ता भएका प्रतिनिधि सभा विघटनसम्बन्धी रिट निवेदनको न्यायिक प्रव्रिmया के हुन्छ सोबारे विचार गरेर मात्रै निर्वाचनको तयारी गर्नुपर्ने सुझाव दिनुभयो । नेकपा (एमाले) ले शान्ति सुरक्षाको वर्तमान स्थितिमा चुनाव नहुने दाबी गर्दै आएको छ । बैठकमा उपाध्यक्ष बरालले भन्नुभयो, “एक हजार दुई सय बढी हतियार लुटिएका छन् । करिब एक लाख गोली बाहिर छ । जबसम्म हतियार फिर्ता भएर सरकारको काबुमा आउँदैन, भयमुक्त वातावरणमा निर्वाचन कसरी सम्भव हुन्छ ?” नेकपा (माओवादी केन्द्र) का सदस्य देव गुरुङले ट्र्याकबाहिर गएको संविधानलाई जीवित बनाउन निर्वाचन आवश्यक रहेको तर्क गर्नुभयो । उहाँले सरकारले दलहरूलाई विश्वासमा लिएर वातावरण बनाएपछि मात्रै निर्वाचन आयोगको भूमिका सुरु हुने बताउनुभयो । स्रोत गोरखपत्र दैनिक
२.संवैधानिक आयोगहरूमा रिक्त पदपूर्तिको तयारी
प्रधानमन्त्री सुशीला कार्कीले संवैधानिक आयोगहरूमा रिक्त पदपूर्तिबारे परामर्श सुरु गरेकी छन् । खासगरी निर्वाचनको समयमा निर्वाचन आयोग प्रमुख नै रिक्त रहेको अवस्था देखाएर उनी संवैधानिक परिषद्को बैठक डाक्ने सम्भावनाको खोजीमा छिन् । यसअन्तर्गत उनले सरोकारवाला पक्षहरूसँग संवाद गरिरहेकी छन् । प्रधानमन्त्री कार्कीले निर्वाचनसँग सरोकार राख्ने विभिन्न क्षेत्रका सरोकारवालाहरूसँग छलफल गरेकी छन् । यसअघि संवैधानिक आयोगका रहेका रिक्त पदहरू पूर्ति गर्ने प्रक्रियाका सम्बन्धमा उनले राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालसँग संवाद गरेकी थिइन् ।
राष्ट्रिय सभा अध्यक्षको सचिवालयका अनुसार भेटमा प्रधानमन्त्री कार्कीले निर्वाचन आयोगमा प्रमुख निर्वाचन आयुक्तसहित दुई आयुक्त रिक्त रहेको स्मरण गरेकी थिइन् ।
आयोगका तत्कालीन प्रमुख आयुक्त दिनेशकुमार थपलिया ५ वैशाख २०८२ मा कार्यकाल सकिएर बिदा भएका थिए । त्यसयता प्रमुख आयुक्तको पद रिक्त छ । आयोगका तत्कालीन आयुक्त इश्वरीप्रसाद पौड्याल अवकाशमा गएदेखि नै एक आयुक्त पद रिक्त छ । पौड्याल ४ फागुन २०७९ मै कार्यकाल सकिएर बिदा भएका थिए । साथै, प्रधानमन्त्री कार्कीले कामको चाप रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत एक आयुक्त पद रिक्त हुन लागेको बताएकी थिइन् । अख्तियारका आयुक्त किशोर सिलवाल उमेर हदका कारण छिट्टै अवकाशमा जाँदैछन् । यसकारण अख्तियारमा समेत आयुक्त नियुक्त गर्नुपर्ने अवस्था रहेको प्रधानमन्त्रीको सन्देश छ ।
३.कुलमानले दल खोल्ने, सम्पूर्ण कागाजातहरु तयार
ऊर्जामन्त्री कुलमान घिसिङ जेन(जी आन्दोलनको भावना र मर्मलाई समेटेर वैकल्पिक शक्ति बनाउने गरी राजनीतिक दल दर्ताको कसरतमा जुटेका छन् । फागुन २१ का लागि घोषित निर्वाचनमा भाग लिने उनको तयारी छ । घिसिङले यसका लागि नयाँ राजनीतिक शक्तिहरु, जेन–जी अभियन्ता एवं समूह तथा सामाजिक छविका व्यक्तिसँग संवाद तीव्र पारेका छन् । सकैसम्म सबैलाई एउटै छातामा समेट्ने र नसके सहकार्य गरेर जाने गरी छलफल चलिरहेको स्रोत बताउँछ ।
४.हिजो भएको राष्ट्रपति र जेनजी समुहबीच भएको छलफलमा, जेनजी विद्रोहलाई जन आन्दोलनको मान्यता दिन सरकार र राष्ट्रपतिसमक्ष माग,
राष्ट्रपति कार्यालय शितल निवासमा राष्ट्रपति रामचन्द्र पौडेल र जेनजी अगुवाहरुबीच छलफल सम्पन्न भएको छ प्रधानमन्त्री र केही मन्त्रीहरुको उपस्थितिमा भएको भएको छलफलमा मुख्य रुपमा आगामी निर्वाचनमाथि छलफल भएको छ । आगामी निर्वाचन तोकिएकै मितिमा सम्पन्न गर्ने विषयदेखि भदौ २३ र २४ गते भएको आन्दोलनलाई वैधता दिने विषयमा समेत छलफल भएको बताए । छलफलमा जेनजी समुहले पनि निर्वाचनमा सहभागी हुने कुरा गरे। सरकारले भदौ २३ र २४ गते भएको आन्दोलनलाई जनआन्दोलन घोषणा गर्नुपर्ने, घाइते र शहीद परिवारको न्यायका लागि आयोग बनाएर काम गर्नुपर्ने विषयमा छलफल भएको बताए । छलफलमा जेनजीबाट मदन कार्की, मोनिका निरौला, भोजविक्रम थापा, शिव यादव, उर्पाजुन चाम्लिङ, निकुन्ज भण्डारी, रिजन राना, बब्लु गुप्ता, ओजस्वीराज थापा, पुरुषोत्तम यादव, आदित्य आचार्य, खेमराज साउद, अप्सना बानु, प्रदीप पाण्डे, गुन्जन शाह ठकुरी, धिरज जोशी लगायत सहभागी थिए ।
५. बुटवलमा रवि र छविका फाइल सुरक्षित ।
सुप्रिम सहकारी ठगी मुद्दामा बिगोबमोजिमको रकम बुझाएर थुनामुक्त रहँदै पुर्पक्षका लागि मुद्दा लड्न राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले माग गरेकामा उच्च अदालत तुलसीपुर बुटवल इजलासले लामिछाने र सहअभियुक्त छविलाल जोशी दुवैको फाइल एकैसाथ पेस गर्न आदेश दिएको छ ।
यसअघि उच्च अदालत बुटवलले लामिछानेको मुद्दामा कैफियत प्रतिवेदन माग्ने आदेश दिएको थियो । बिहीबार न्यायाधीश मिलनकुमार राई र ओमप्रकाश अर्यालको इजलासमा परेको लामिछानेको मुद्दामा सुनुवाइपछि अदालतले जोशीको मुद्दासमेत एउटै प्रकृतिको भएकाले दुवै फाइल एकसाथ राख्न आदेश गरेको अदालतका सूचना अधिकारीले जानकारी दिनुभयो ।
६.अघिल्लो सरकारले नियुक्त गरेका धेरैजसो राजदूतहरुलाई फिर्ता बोलाउने निर्णय ।
अघिल्लो सरकारले नियुक्त गरेका धेरैजसो राजदूतहरुलाई फिर्ता बोलाउने निर्णय गरेको भनिएपनि त्यस्ता राजदूतमध्ये केहीलाई भने फिर्ता बोलाइएको छैन । सरकारले चीनका लागि राजदूत राजदूत कृष्णप्रसाद ओली, जर्मनीका शैल रुपाखेती, इजरायलका धनप्रसाद पण्डित, मलेसियाका डा। नेत्रप्रसाद तिमल्सिना, कतारका रमेशचन्द्र पौडेल, रुसका जंगबहादुर चौहान, साउदी अरबका नरेशविक्रम ढकाल, स्पेनका शनिल नेपाल, बेलायतका चन्द्रकुमार घिमिरे, अमेरिकाका लोकदर्शन रेग्मी र जापानका डा. दुर्गाबहादुर सुवेदीलाई राजदूतबाट फिर्ता बोलाएको हो ।
सरकारले फिर्ता नबोलाएका राजदूतहरुमा अष्ट्रेलियाका लागि राजदूत चित्रलेखा यादव तथा दक्षिण कोरियाका लागि राजदूत शिवमाया तुम्बाहाम्फे पनि छन् । ओलीले नै नियुक्त गरेका भारतका लागि राजदूत शंकरप्रसाद शर्मा, दक्षिण अफ्रिकाका लागि प्रा. डा. कपिलमान श्रेष्ठ, डेनमार्कका लागि सुम्निमा तुलाधार, श्रीलंकाका लागि पूर्णबहादुर नेपाली, बेल्जियमका लागि सेवा लम्साललाई पनि फिर्ता बोलाइएको छैन । त्यस्तै, त्यसअघिको सरकारले नियुक्त गरेका क्यानडाका लागि राजदूत भरतराज पौड्याललाई पनि फिर्ता बोलाइएको छैन। 
७.निर्वाचन शान्तिपूर्ण र निष्पक्ष हुन्छ ः गृहमन्त्री अर्याल
गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी फागुन २१ गतेका लागि तय भएको निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र धाँधलीरहित रूपमा सम्पन्न हुने बताउनुभएको छ । जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त बनेको भक्तपुर जिल्ला प्रशासन कार्यालय भवनको बिहीबार निरीक्षणपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै मन्त्री अर्यालले तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्न सरकारले आवश्यक तयारीसँग राजनीतिक दल र सरोकारवालासँग आवश्यक छलफल र समन्वयका लागि तयारी गरिरहेको बताउनुभयो । मन्त्री अर्यालले भन्नुभयो, “आगामी निर्वाचनको तयारीका लागि राष्ट्रपतिले राजनीतिक दलसँग छलफल सुरु गरिसक्नुभएको छ । सरकारले पनि आफ्नो आवश्यक पहल गरिरहेको छ ।” उहाँले तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्न सबै सरोकारवाला संवादमा आउनुपर्ने बताउँदै सरकारले त्यसका लागि आवश्यक समन्वय र सहजीकरण गर्ने पनि बताउनुभयो । निर्वाचनमार्फत ताजा जनादेश लिन पाउनु सबैको उत्तिकै अधिकार रहेको बताउँदै उहाँले त्यो अधिकार सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो
८.कालीकोटमा एनटिसी टावरले राम्रोसँग नटिपेपछि, कुराकानी गर्न छानामाथि मोबाइल
कालीकोट जिल्लाका केही ठाउँमा मोबाइल सेवा सहज नचल्दा नागरिक अझै पनि मोबाइल फोन सम्पर्कभन्दा बाहिर छन् । जिल्लामा फाइब जी सेवा सञ्चालन भए पनि जिल्लाका केही ग्रामीण ठाउँमा फोन सेवासमेत सहज रूपमा चल्न सकेको छैन । फोन सेवा सहज नहुँदा आफन्तसँग कुरा गर्न घरको छाना वा बसेको स्थानबाट माथि अग्लो पाखातिर जानुपर्ने बाध्यता छ । खाँडाचक्र नगरपालिका–८, पाँखाको सेराबाडा बजार, तिलागुफा नगरपालिकाको बाली बजार, नाग्म बजार, धनाडा गाउँ र पलाँता गाउँपालिकाको बाख्रे बजार, पचालझरना गाउँपालिकाको जारकोट बजार क्षेत्रमा समेत मोबाइल सेवा भनेको समयमा चल्दैन । आफन्तसँग मोबाइल फोन सम्पर्कमार्फत कुरा गर्नका लागि केही ठाउँमा घरको छानामाथि पिटपिटे सामान्य मोबाइल राख्नुपर्ने अवस्था रहेको स्थानीय बताउँछन् । खाँडाचव्रm नगरपालिका–८ को सेराबाडा बजारको मल्ल होटेलमाथि छानामा जहिले पनि मोबाइल फोनको सादा सेट राखिएको हुन्छ । होटेलमा खाना खान आउनेदेखि सुर्खेतमा रहेका छोराछोरी तथा आफन्तसँग सम्पर्क होस् भनेर होटेल सञ्चालकले घरको छानामा बिहानदेखि साँझसम्म मोबाइल सेट ठाडो पारेर राख्दै आउनुभएको छ । होटेल सञ्चालक खगेन्द्र मल्लले कालीकोटमा मोबाइल सेवा सुरु भएको २०६४ सालदेखि नै यहाँ यसरी छानामाथि सेट राखेर सम्पर्क गर्ने गर्नु परेको बताउनुभयो ।
९. सामाजिक सञ्जालमा बालेनको ‘लुसिफर’ अवतार
काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाह सामाजिक सञ्जालमा ‘लुसिफर’ बनेर तस्बिर पोस्ट गरेका छन् । इन्टाग्रामका फलोअर्सको आग्रह अनुसार उनले लुसिफरको हेयरस्टाइलमा तस्बिर पोस्ट गरेका हुन् । उनले लेखेका छन्, ‘दाइ, लुसिफरको जस्तो हेयरस्टाइल बनाएर एउटा फोटो हाल्नु न । हस बाबु, यदि यसले तिमीलाई खुसी दिन्छ भने, मलाई थाहा छैन त्यो स्टाइल मिल्छ कि मिल्दैन ।’ कमेन्टमा शाहकी पत्नी सविना काफ्लेले लेखेकी छन्, ‘हे भगवान् १ अब दुई-तीन दिनलाई पुग्यो ।’


