२०८२ असोज ३०, बिहिबार ।
नेपालले समग्रमा तेस्रो पटक र लगातार दोस्रो पटक आइसिसी टी–२० विश्वकपमा खेल्ने भएको छ । टी–२० विश्वकपको १० औँ संस्करण सन् २०२६ मा भारत र श्रीलङ्कामा संयुक्त रूपमा आयोजना हुने छ । आइसिसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्समा संयुक्त अरब इमिरेट्स (युएई) ले बुधबार सामोआलाई ७७ रनले हराएपछि नेपालले दुई खेलअघि नै विश्वकपमा स्थान सुरक्षित गर्यो । अपराजित नेपालले अब ओमान र सामोआविरुद्ध च्याम्पियन बन्न खेल्ने छ । नेपालले पहिलो पटक सन् २०१४ मा टी–२० विश्वकप खेलेको थियो । बङ्गलादेशमा आयोजित आइसिसी विश्वकप टी–२० क्रिकेट प्रतियोगितामा गरेको प्रदर्शनले त नेपालको नाम विश्व क्रिकेटमा एक्कासि चर्चामा आएको थियो । सो प्रतियोगितामा नेपालले अनपेक्षित रूपमा तीनमध्ये दुई खेल जितेर विश्वलाई प्रभावित पारेको थियो । रनरेटको आधारमा मात्र नेपाल विश्वकपको सुपर १० मा प्रवेश गर्नबाट वञ्चित भएको थियो । यसअघि नेपालले आइसिसी विश्वकपमा खेल्ने छ र जित्छ भनेर सायदै कसैले सोचेका थिएनन ।


