२०८२ भाद्र १०, मंगलबार ।
आज भाद्र शुक्ल तृतीयाका दिन हिन्दु महिलाहरू हरितालिका तीज पर्व मनाउँदै छन्। यो दिन देवादिदेव महादेवको पूजाआराधना गरी व्रत बस्ने परम्परा रहिआएको छ।आजको दिन पशुपतिनाथ लगायत देशभरका शिवालयहरूमा भक्तजनहरूको घुइँचो लाग्ने गर्दछ । आजको विशेष दिनलाई ध्यानमा राखेर भक्तजनहरूको सहजताका लागि पशुपतिनाथका चारै ढोका बिहान ३ बजे बाटै खुल्ला गरिएको छ । शास्त्रअनुसार भाद्र शुक्ल तृतीयामा हरितालिका व्रत लिनाले सुख, शान्ति र कल्याण प्राप्त हुने विश्वास छ। विवाहित महिलाले पतिको दीर्घायु र अविवाहित महिलाले सुयोग्य वरको कामना गर्दै यो व्रत बस्ने गर्छन्। यद्यपि शास्त्रीय मान्यताअनुसार पुरुषहरूले पनि यो व्रत लिनुपर्ने उल्लेख छ। सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा तपस्या गरेर महादेवलाई पति पाएकी थिइन्। पिता हिमालयले विष्णुसँग पार्वतीको विवाह गराउन खोजेपछि साथीहरूले पार्वतीलाई लुकाएर सुरक्षित स्थानमा राखे। त्यही स्थानमा पार्वतीले निराहार व्रत गरी महादेवलाई प्राप्त गरिन्।
यो व्रत निराहार, जलाहार वा फलाहार गरेर बस्न सकिन्छ तर आफ्नो स्वास्थ्यको विचार गरेर ब्रत बस्नु पर्दछ। धार्मिक विश्वासअनुसार आजको दिन व्रत बस्ने र शिव–पार्वतीको पूजा गर्ने व्यक्तिको मनोकामना पूरा हुने मान्यता छ।
महादेवको पूजाआराधना गरी हरितालिका तीज मनाइँदै ।
1 Min Read


