२०८२ साउन २५, आइतबार ।
गृहमन्त्री रमेश लेखकले धनगढी कारागार घटनाका सम्बन्धमा शनिबार तीन वटै सुरक्षा निकायका प्रमुखलाई गृह मन्त्रालयमा बोलाएर जानकारी लिई थप सुरक्षा मजबुती बनाउन निर्देशन दिनुभएको छ । उहाँले उक्त घटनाबाट समग्र कारागारको सुरक्षा अवस्थाको जानकारी लिई, कैदीबन्दीको अवस्था र घाइतेको तत्कालै उपचार व्यवस्था मिलाउनसमेत निर्देशन दिनुभएको गृह मन्त्रालयले जनाएको छ । नेपाल प्रहरीका प्रमुख दीपक थापा, सशस्त्र प्रहरी प्रमुख राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख निर्देशक हुतराज थापा र गृहसचिव गोकर्णमणि दुवाडीसहितको छलफलमा कैदीबन्दीबिच झडपपछि उत्पन्न परिस्थितिलाई सामान्य बनाई उच्च सुरक्षा सतर्कता अपनाउनेबारे छलफल भएको मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिनुभयो लफलबारे जानकारी दिँदै प्रवक्ता काफ्लेले भन्नुभयो, “कारागारको पूर्ण सुरक्षा र थप अप्रिय घटना हुन नदिन नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले सुरक्षा व्यवस्था कडा पार्ने छन् । झडपमा परी घाइते भएका अन्य घाइतेको उपचारको प्रबन्ध मिलाइएको छ ।”
उहाँका अनुसार गृह मन्त्रालयमा भएको छलफलमा उक्त घटनालाई सरकारले गम्भीरताका साथ लिएको र परिस्थिति सहज बनाउन सूक्ष्म रूपले हेरेको छ । काफ्लेका अनुसार झडपमा घाइते भएका अन्य कैदीबन्दीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको र गम्भीर घाइते आयुष भट्टलाई थप उपचारका लागि शनिबार नै काठमाडौँ ल्याइएको छ । उक्त घटनापछि गृह मन्त्रालयले सो कारागारका जेलर वसन्त खत्रीलाई परिवर्तन गरी जालन्धर भुसाललाई पठाएको हो । भुसालले शनिबारबाटै आफ्नो जिम्मेवारी समालिसकेको पनि मन्त्रालयले जनाएको छ । सो घटनालाई लिएर राष्ट्रिय मानव अधिकार आयोगले सुरक्षा मजबुती अपनाउन आग्रह गरेको छ । आयोगको टोलीले कारागार निरीक्षण गरी सुरक्षा व्यवस्था थप सुदृढ बनाई यस्ता घटना दोहोरिन नदिन पनि आग्रह गरेको छ ।
स्रोत ः गोरखापत्र दैनिक
धनगढी कारागारमा भएको झडप पछि सुरक्षा मजबुत बनाउन गृहमन्त्रीको निर्देशन ।
2 Mins Read

