२०८२ बैशाक १५ ।
राजेन्द्र लिङ्देन नेतृत्वको उपसमितिले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार र अनियमितता भएको ठहर गर्दै प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिलाई प्रतिवेदन बुझाएको छ। समितिमा रहेका दुई सदस्यले थप राय राख्दै सबै दश जना सांसदहरूले हस्ताक्षर गरेपछि लिङ्देनले नयाँ बानेश्वरस्थित संसद भवनमा सोमबार समिति सभापति ऋषिकेश पोखरेललाई प्रतिवेदन बुझाएका हुन्। प्रतिवेदनमा नेकपा (एमाले) का सांसद गोकुल बाँस्कोटा र तारा लामाले भने थप राय लेखेका छन्। उपसमितिको प्रतिवेदन संयोजक लिङ्देनले पोखरा एयरपोर्ट निर्माणका क्रममा झन्डै १० अर्बको अनियमितता भएको हिसाब प्रस्तुत गरे।
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि टेन्डर आह्वान हुँदा झन्डै १४ अर्ब लागतको अनुमान गरिएको तर सम्झौता गर्दा २२ अर्बमा गरिएकाले त्यसमा भ्रष्टाचार भएको लिङ्देनले बताए . नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी कतिपय निर्णयका हस्ताक्षरकर्ता भएकाले निलम्बनको सिफारिस गरिएको लिङ्देनले उल्लेख गरे। आयोजनास्थलमा र हस्ताक्षरमा संलग्न भएका पदाधिकारीको नाम राखेका छौं। नाम नआउँदा पनि यी सबै प्रक्रियामा संलग्न सबै पदाधिकारी भनेका छौं। नाम लेख्दा र नलेख्दा उन्मुक्ति पाउने भन्ने हुँदैन’, लिङ्देनले भने, ‘प्रारम्भमै फाइल नागरिक उड्डयन प्राधिकरणबाट उठ्ने हो। कन्ट्र्याक्ट एग्रिमेन्टमा हस्ताक्षर गर्नेमा पनि उहाँहरू नै हुनुहुन्छ। करको दायित्व निर्माण कम्पनीमा हुने भन्नेमा पनि उहाँहरू नै जानकार हुनुहुन्छ। फेरि उहाँहरूले नै कर छुटको फाइल उठाउनु भएको छ। जो अहिले पनि पदाधिकारी हुनुहुन्छ। प्रमाणहरू मेटिन सक्छ भन्ने भएपछि हामीले नाम उल्लेख गरेका छौं।’

