नेपाली कांग्रेसको १५ औं महाधिवेशनबाट नवनिर्वाचित सभापति गगन थापाले गरे पदभार ग्रहण ।
२०८३ असोज ३१, शनिबार ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट नवनिर्वाचित सभापति गगन थापाले आज दिउँसो २ बजे केन्द्रीय कार्यालय सानेपामा शपथ लिएका छन्। सभापतिमा श्यामकृष्ण खड्गीलाई भारी मतान्तरले हराउँदै थापा निर्वाचित भएका थिए। थापाले ६ हजार ५८४ मत पाउँदा खड्गीले ३७५ मत प्राप्त गरेका थिए। अन्य पदाधिकारी र केन्द्रीय सदस्यहरूलाई प्रमाणपत्र वितरण तथा शपथग्रहण कार्यक्रम भने दशैँपछि गर्ने तय भएको छ।
शनिबार ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित शपथ ग्रहण समारोहलाई सम्बोधन गर्दै उनले व्यक्तिगत कमजोरी वा गलत प्रवृत्तिको भारी पार्टीले बोक्न नसक्ने बताएका छन।
सभापति थापाले भने, ‘पार्टी सभापति हुँदै गर्दा मेरो व्यक्तिगत जीवन, परिवार, आर्थिक जीवन र सम्बन्धहरूप्रति म सचेत र जिम्मेवार रहनुपर्छ भन्ने कुरा म बुझ्छु। मेरा कुनै गलत कामले पार्टीलाई असर पर्न सक्छ। त्यसैले, कुनै दिन म चुकेको महसुस भएमा नेपाली कांग्रेसले मलाई सभापतिबाट अलग गरेर अगाडि बढ्नुपर्छ। किनकि व्यक्ति पार्टीभन्दा ठूलो हुँदैन।’
पार्टी लाखौँ नेता–कार्यकर्ताको रगत र पसिनाबाट सिर्जित एक सार्वजनिक सम्पत्ति भएको स्मरण गराउँदै उनले व्यक्तिका गल्तीको दायित्व सम्बन्धित व्यक्तिले नै लिनुपर्ने औँल्याए। नेतृत्वले गरेका भूल र कमजोरीको भारी पार्टीले बोक्दा संस्था नै धराशायी बन्ने भएकाले त्यस्तो प्रवृत्ति अन्त्य गर्नुपर्ने उनको भनाइ छ। मुलुकको वर्तमान परिस्थितिबारे चर्चा गर्दै सभापति थापाले दसैंको फूलपातीकै दिन समेत हजारौँ युवाहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिन बाध्य हुनु राष्ट्रकै लागि गम्भीर चिन्ताको विषय भएको बताए। उनले रातारात चमत्कार गर्न नसकिए पनि स्वदेशमै युवाहरूलाई स्वाभिमानका साथ बाँच्ने वातावरण निर्माण गर्न कांग्रेसले आफ्ना तर्फबाट इमान्दार प्रयत्न थाल्नुपर्ने बताए।
पार्टीभित्रका असन्तुष्ट पक्षलाई मिलाउने र व्यवस्थापन गर्ने सम्पूर्ण जिम्मेवारी आफूले लिने स्पष्ट पार्दै थापाले अन्य नेता तथा कार्यकर्ताहरूलाई अब कोठाभित्र बसेर निराशाको गन्थन नगर्न निर्देशन दिए। ‘हाम्रा चुनौती पहाडजस्ता छन्, तर अवसर हिमालभन्दा पनि अग्ला छन्। यही विश्वासका साथ अघि बढौँ। पार्टीका सबै साथीहरूलाई हृदयदेखि धन्यवाद दिँदै आग्रह गर्छु,अब निराशाका लामा गफ र गुनासो छाडौँ। पार्टीभित्रका असन्तुष्ट साथीहरूलाई समेट्ने जिम्मेवारी मलाई छाडिदिनुहोस्। म त्यो जिम्मेवारी पूरा गर्नेछु। अब सबै साथीहरू आफ्नो काम र कर्ममार्फत पार्टीका कार्यकर्ता तथा नागरिकमाझ जाऔँ र उनीहरूका समस्यामा काम गरौँ। आक्रोशको रोटी सेक्नेहरूबारे धेरै चिन्ता नगरौँ, किनकि त्यो क्षणिक हो । नेपाली काँग्रेस सकारात्मक सोच, सकारात्मक ऊर्जा र आशाको केन्द्र बन्नुपर्छ । अब निराशा होइन, कर्म र परिणामबाट जनताको विश्वास जित्ने समय आएको छ ।’



