काठमाडौं, २७ बैशाख – नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दैछ । शुक्रबार सुरु हुने बजेट अधिवेशनमा पार्टीले खेल्ने भूमिकाबारे छलफल गर्न कांग्रेसले संसदीय दलको बैठक बोलाएको हो ।

बैठक संसद् भवनको ल्होत्से हलमा दिउँसो २ बजे बस्ने भएको छ । बर्खे अधिवेशन पनि भनिने बजेट अधिवेशनको पहिलो बैठक वैशाख २८ गते दिउँसो २ बजे संघीय संसद भवन नयाँबानेश्वरमा बस्दैछ ।
यस्तै सहकारीको रकम हिनामिना प्रकरणमा मुछिएका गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठनको माग उठाउँदै अघिल्लो अधिवेशनमा कांग्रेसले संसद्मा विरोध जनाएको थियो । सो विषयमा पनि बैठकमा छलफल हुने जनाइएको छ ।
एमाले कांग्रेस मिल्नुपर्छ भन्ने छ, तर हामीलाई हतार छैन : रमेश लेखक
नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले पार्टीले नयाँ समीकरण बनाउन हतार नगरेको बताएका छन् । बुधबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रमुख सचेतक लेखकले अहिलेको सत्ता समीकरण भत्काएर अर्को बनाउयन हतार नगरेको दाबी गरे ।
‘राजनीतिमा निरन्तर संवाद हुन्छ, पहिलो दल भएकाले अरू दलसँग निरन्तर संवाद हुन्छ, स्वभाविक हो,’ उनले भने, ‘तर अहिले नै एमालेसँग मिलेर सरकार बनाउन ठोस संवाद गरेका छैनौं ।’
आमजनताको धारणा भने कांग्रेस एमाले मिलेर सरकार बनाउनुपर्छ भन्ने रहेको लेखकले बताए । ‘त्यो कांग्रेस र एमालेभित्र पनि छ तर, सरकार बनाउने तहमा एमालेसँग संवाद कांग्रेसको भएको छैन,’ उनले भने ।
कांग्रेसले बिहीबार संसदीय दलको बैठक बोलाएको छ । सरकारले बजेट अधिवेसन बोलाइसकेको छ । तर कांग्रेसले गृहमन्त्रीमाथि संसदीय छानविन हुनु पर्ने माग राख्दै निरन्तर संसद अवरोध गरिरहेको छ ।

