काठमाडौं, १८ बैशाख – इलाम क्षेत्र नम्बर- २ बाट प्रतिनिधिसभा सदस्यमा सुहाङ नेम्वाङ विजयी भएका छन् । २७ हजार ७७२ मत पाएका एमालेका नेम्वाङले नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्कालाई फराकिलो मतान्तरले हराएका हुन् । खड्काले २१ हजार ९४२ मत पाएका छन् । तेस्रो स्थानमा पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ११ हजार ४५७ मत पाएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बू ५ हजार ५० मत पाएर चौथो स्थानमा आएका छन् । उपनिर्वाचनको परिणामसँगै अब प्रतिनिधिसभामा युवा नेता सुहाङले प्रवेश हुने भएको छ ।
संविधानसभाका अध्यक्ष एवं पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको निधन भएपछि इलाम क्षेत्र नम्बर २ मा बैशाख १५ गते उपनिर्वाचन भएको थियो । इलाममा जनताले नेम्वाङका छोरालाई निर्वाचित गरेर पठाएका छन् ।
यसअघि एमालेसँग ११४ मतले पराजित भएको नेपाली कांग्रेसले इलामबाट पर्याप्त भोट बटुल्न सकेन । तर, विगतमा कम प्रभाव रहे पनि पहिचानवादीले यसपटक सम्मानजनक मत पाएका छन् । मिसन ८४ अभियानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले भने इलाममा चौथो स्थानमा चित्त बुझाउनुपरेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपासहित १६ उम्मेदवारको जमानत जफत भएको छ । १९ जना चुनावी प्रतिस्पर्धामा रहेका बेलामा रास्वपाका मिलन लिम्बूसहित १६ को जमानत जफत भएको छ ।
कुल मतदाता १ लाख १५ हजार ८८९ रहेकामा जम्मा ६९ हजार ३७४ मत खसेको थियो । जसमा ६८ हजार ४७२ मत सदर हुँदा ९०२ मत बदर भएको थियो ।
जमानत जफल हुनेहरुमा मनिबहादुर लिम्बूले ८१६, जीतबहादुर राईले ४०८, लक्ष्मी गुरुङले ४०४, रेशमबहादुर सुनारले २०६, प्रेमकुमार थाम्सुहाङले ११८, र अर्जुनबहादुर शाहीले ५५ मत ल्याए ।
त्यस्तै गणेशबहादुर चौहानले ४३, जयन्तविक्रम शाहले ४३, राज बश्यालले ३८, धनराज राना मगरले ३६, श्यामबहादुर दर्जीले ३३, दिपेश बोहोराले २१, डाकप्रसाद गौतमले १४, मनोज निरौलाले १२ तथा योगेन्द्र गुरुङले ४ मत ल्याए ।


