२०८३ असोज २६, सोमबार ।
गृहमन्त्र भएपछि गृहमन्त्रीको पहिलो बिदेश भ्रमणका रुपमा गृहमन्त्री सुधन गुरुङ बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगको लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक)को गृहमन्त्री स्तरीय प्रथम बैठकमा सहभागी हुन भारत प्रस्थान गरेका छन् । उनी आज दिउँसो १ः०० बजे भारतको नयाँ दिल्ली प्रस्थान गरेका गृह मन्त्रालयले जनाएको छ । गृहमन्त्री गुरुङले यही असोज २७ गते बिमस्टेकको बैठकमा सम्बोधन गर्नेछन्। बैठकमा नेपाल, भारत, बङ्गलादेश, भूटान, म्यानमार, श्रीलङ्का र थाइल्याण्डसहित सातवटै सदस्य मुलुकका आन्तरिक सुरक्षा मामिला हेर्ने मन्त्री सहभागी हुनेछन् ।
गृहमन्त्रीको कार्यभार सम्हालेयता गुरुङको यो पहिलो औपचारिक विदेश भ्रमण हो । बिमस्टेकअन्तर्गत महत्वपूर्ण सहकार्यको क्षेत्रको रूपमा रहेको सुरक्षा क्षेत्रको उच्चस्तरीय संयन्त्रको रुपमा रहेको उक्त बैठक पहिलोपटक भारतमा आयोजना हुन लागेको छ । उक्त संयन्त्रको परिकल्पना सन् २०१८ मा काठमाडौँमा सम्पन्न चौथो बिमस्टेक शिखर सम्मेलनले गरेको थियो । मंगलबार भारतको नयाँ दिल्लीमा हुन गईरहेको उक्त बैठकमा माननीय गृहमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । सातवटै सदस्य मुलुकका आन्तरिक सुरक्षा मामिला हेर्ने मन्त्रीहरु उक्त बैठकमा सहभागी हुनेछन् । उक्त बैठकमा बिमस्टेक क्षेत्रमा रहेका लागुपदार्थ ओसारपसार, मानव बेचबिखन, सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी, आतङ्कवाद, विपद्जन्य सुरक्षा, साईबर अपराध लगायतका अन्तरदेशीय एवम् क्षेत्रीय सुरक्षा चासोका विषयमा सहकार्य प्रवर्द्धनका लागि छलफल हुनेछ ।
सो क्रममा सुरक्षा क्षेत्रका बिमस्टेक स्तरीय विभिन्न संयन्त्रमा छलफल भएका विषय तथा दस्तावेजलाई पारित गर्ने एवम् घोषणापत्र जारी समेत हुनेछ । उक्त बैठकको क्रममा जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा बढ्दो प्राकृतिक विपद्को जोखिम न्यूनीकरण, पूर्वसूचना प्रणालीको सुदृढीकरण तथा एकीकृत उद्धार र राहतका लागि क्षेत्रीय सहकार्य बढाउने विषयलाई नेपालले प्राथमिकता दिनेछ।




