विश्वको सर्वोच्च शिखरबाट करिब तीन वर्षअघि आएको त्यो आवाज सुनिएन, सुनेको भए भोटेकोशीको बाढी नआउन सक्थ्यो ।
२०८३ असोज ०९, शुक्रबार ।
संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभालाई आज शुक्रबार बिहान सम्बोधन गर्दै प्रधानमन्त्री शाहले करिब तीन वर्षअघि, हाम्रो सगरमाथाको काखमा उभिएर संयुक्त राष्ट्रसङ्घका महासचिवले आसन्न जलवायु विपत्तिको उन्मादपूर्ण खतराका बारेमा मानवतालाई सचेत गराउनुभएको थियो। विश्वको सर्वोच्च शिखरबाट आएको त्यो आवाज पर्याप्त रूपमा सुनिएन, सुनेको भए भोटेकोशीको बाढी नआउन सक्थ्यो । विश्वले सुन्यो कि सुनेन नेपालमा रहेका हामीले—त्यो सुन्यौं। हाम्रा समुदायहरूले त्यो सुने।
उक्त महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले अन्तरमहादेशीय क्षेप्यास्त्र र राइफल तथा गोलाबारुद तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर नेपालका किसानले आवश्यक परेको बेला बजार मूल्यमा मल वा इन्धनसमेत पाउन नसक्ने अवस्था रहेको बताए। उनले आफूले तिर्न सक्ने देशले आवश्यक वस्तु किन्न पाउनुपर्ने र ७२ घण्टाभित्र संसारको जुनसुकै ठाउँमा हतियार पुर्याउन सक्ने विश्वसँग किसानलाई मर्यादित जीविकोपार्जनका साधनबाट वञ्चित राख्ने कुनै बहाना हुन नसक्ने बताए। यो प्रसंगलाई उनले जलवायु न्याय र विश्वव्यापी आर्थिक व्यवस्थासँग जोड्दै कमजोर तथा विकासशील देशका नागरिकले आफूले सिर्जना नगरेका सङ्कटको भार बोक्नुपरेको बताए।
उनले जलवायु परिवर्तनले नेपालजस्ता देशलाई असर पारिरहेको र अर्कोतर्फ विश्वव्यापी आपूर्ति शृङ्खलाको कमजोरीले गरिब जनतालाई थप प्रभावित बनाइरहेको उल्लेख गरे। प्रधानमन्त्री बालेन शाहले विश्वव्यापी आपूर्ति प्रणालीमा रहेको असमानतामाथि प्रश्न उठाउँदै हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा भने कमजोर रहेको बताएका छन्।


