२०८३ भाद्र २६, शुक्रबार ।
काठमाडौँ महानगरपालिकाले लक्षित वर्गलाई २ लाख रुपैयाँसम्मको निःशुल्क जलन उपचार उपलब्ध गराउने भएको छ । महानगरपालिकाले जलन उपचारका लागि आवश्यक औजार, उपकरण र सेवाका लागि अस्पताललाई २ करोड रुपैयाँ प्रदान गरेको जनाएको छ । सामग्री तथा चेक हस्तान्तरणपछि बोल्दै महानगरपालिकाका कार्यवाहक प्रमुख डंगोलले सकेसम्म नागरिकले जलन भोग्न नपरोस् भनेर क्षमता विकास तथा प्रवर्धनात्मक कार्यक्रम सञ्चालन गर्ने र भवितव्यमा जलनमा परेकालाई निःशुल्क उपचार उपलब्ध गराउने बताइन् ।
‘कसैले जलन भोग्नु नपरोस् । भवितव्य पर्यो भने पैसा नभएर अस्पताल नलैजाने अवस्था नआओस् । बल्ल बल्ल अस्पताल पुर्याएपछि बिरामी छोडेर पैसाको खोजी गर्न जानु नपरोस् । यसका लागि कोषको व्यवस्था गरेका हौँ,’ उनले भनिन् । उनले आगलागी नियन्त्रणका क्रममा फ्रन्ट लाइनमा बसेर काम गर्ने अग्नि नियन्त्रक, नगर प्रहरी, स्वास्थ्यकर्मी, जनप्रतिनिधि, कर्मचारी तथा महानगरवासीलाई जलनबाट बच्ने उपायबारे क्षमता विकासका कार्यक्रम सञ्चालन गरिने बताइन् । ‘जलनमा पर्नेलाई २ लाख रुपैयाँसम्मको निःशुल्क उपचार प्रदान गर्नेछौँ,’ उनले भनिन् । महानगरपालिकाले उपलब्ध गराएको ५ सय एमएको डिजिटल एक्सरे मेसिनबाट दैनिक १ सय जनासम्मलाई सेवा दिन सकिएको जानकारीबाट आफू खुशी भएको कार्यवाहक प्रमुख डंगोलले बताइन् ।
उनले वीर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, टिचिङ हस्पिटल, कान्ति बाल अस्पतालसहित ठूला अस्पताललाई बिरामीको सहज उपचारका लागि आवश्यक पर्ने पूर्वाधार, साधन तथा उपकरण सहयोग गरिएको जानकारी दिइन् । स्वास्थ्य सेवामा नागरिकको पहुँच बढाउन महानगर अस्पताल स्थापनाको तयारी भइरहेको पनि उनले बताइन् ।


