शिक्षा मन्त्रालयको द्रुत सर्वेक्षण अनुसार बाढीको कारण २८ शिक्षक, ५०० बढी विद्यार्थी सम्पर्क विहीन र १० हजारभन्दा बढी प्रभावित ।
२०८३ भाद्र २२, सोमबार ।
भाद्र १० गते भोटेकोशीमा आएको बाढीका कारण २८ शिक्षक र ५०० भन्दा बढी विद्यार्थी सम्पर्कविहीन भएका छन् । शिक्षा मन्त्रालयले तीनवटा समुह बनाएर गरेको द्रुत सर्वेक्षणअनुसार बाढीबाट १० हजारभन्दा बढी विद्यार्थी प्रभावित भएका छन् । मन्त्रालयका अनुसार बाढी तथा पहिरोका कारण विद्यालयको पठनपाठन, भौतिक संरचना र विद्यार्थीको नियमित अध्ययनमा समेत असर परेको छ । प्रभावित क्षेत्रका विद्यालय तथा विद्यार्थीको अवस्थाबारे थप विवरण सङ्कलन गर्ने काम भइरहेको मन्त्रालयले जनाएको छ ।
बाढीका कारण सम्पर्कविहीन रहेका शिक्षक तथा विद्यार्थीको अवस्थाबारे सम्बन्धित निकायमार्फत खोजी तथा समन्वय भइरहेको जनाइएको छ । यसैबीच, सरकारले बाढीबाट प्रभावित बालबालिकाको शिक्षालाई निरन्तरता दिन ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ अघि बढाएको छ । शिक्षामन्त्री सस्मित पोखरेलले घोषणा गरेको उक्त योजनामार्फत विपद्का कारण अध्ययनमा समस्या परेका बालबालिकालाई शैक्षिक सहयोग उपलब्ध गराउने तयारी गरिएको छ । मन्त्रालयले विपद्का कारण कुनै पनि बालबालिकाको पढाइ प्रभावित हुन नदिने उद्देश्यले शैक्षिक संस्था तथा विभिन्न संघसंस्थासँग सहकार्य अघि बढाएको जनाएको छ ।
शिक्षा मन्त्रालयको द्रुत सर्वेक्षण अनुसार बाढीको कारण २८ शिक्षक, ५०० बढी विद्यार्थी सम्पर्क विहीन र १० हजारभन्दा बढी प्रभावित ।
1 Min Read


