राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरेका मुगुका गणेश नेपालीलाई भारत लैजाने तयारी, सम्पूर्ण उपचार खर्च नेपाल सरकारले व्यहोर्ने ।
२०८३ असार २६, शुक्रबार ।
राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरेका मुगुका गणेश नेपाली पठाओ चालक रहेको प्रारम्भिक विवरण सार्वजनिक भएको छ। परिवारको गुजाराको मुख्य आधार बनेको ऋण गरेर किनेको मोटरसाइकल नगर प्रहरीले नियन्त्रणमा लिएपछि उनी गम्भीर मानसिक तनावमा पुगेको बताइएको छ।आगलागीबाट उनको शरीरको ५० देखि ७० प्रतिशत भाग जलेको छ। उनको वीर अस्पतालको सघन कक्ष (ICU) मा अत्यन्तै चिन्ताजनक अवस्थामा उपचार भइरहेको छ।
गणेश नेपालीको बिरामी आमाको उपचार, घरखर्च र दैनिक जीविकोपार्जन सबै त्यही मोटरसाइकलबाट हुने आम्दानीमा निर्भर रहेको बताइएको छ। कमाइको एकमात्र साधन बन्द भएपछि आमाको औषधि उपचार गराउन नसक्ने र परिवार पाल्न नसक्ने चिन्ताले उनी मानसिक रूपमा विक्षिप्त बनेर आत्मदाहजस्तो दुःखद कदम रोज्न पुगेको प्रारम्भिक जानकारीमा उल्लेख छ। उनका दाईका अनुसार त्यो अप्रिय घटनाको कारण ट्राफिक प्रहरी र काठमाण्डौ महानगरपालिका रहेको जनाएका छन ।
घटनापछि उनको उपचार भइरहेको छ भने प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।
गणेश नेपालीको घटना एउटा व्यक्तिको मात्र पीडा नभई आर्थिक अभाव, बेरोजगारी र कमजोर सामाजिक सुरक्षाले नागरिकलाई कति कठिन अवस्थामा पुर्याउन सक्छ भन्ने मार्मिक उदाहरणका रूपमा हेरिएको छ। कानुन कार्यान्वयनसँगै नागरिकको जीविकोपार्जन र मानवीय पक्षलाई पनि समान रूपमा ध्यान दिनुपर्ने आवाज यतिबेला बलियो बन्दै गएको छ।
नेपाल सरकारले त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि भएको घटनामा परी गम्भीर रूपमा जलन भएका गणेश नेपालीको सम्पूर्ण उपचार खर्च व्यहोर्ने भएको छ । हाल वीर अस्पतालमा उपचाररत नेपालीको थप तथा विशिष्टीकृत उपचारका लागि तत्कालै भारतको नयाँ दिल्लीस्थित ‘अखिल भारतीय आयुर्विज्ञान संस्थान’ लैजाने तयारी गरिएको छ ।
बिरामीको स्वास्थ्य अवस्था बुझ्न र उपचार प्रक्रियालाई तीव्र बनाउन गृहमन्त्री सुदन गुरुङ र प्रधानमन्त्रीको सचिवालयका सदस्यहरू हिजै वीर अस्पताल पुग्नुभएको थियो । उहाँहरूले वीर अस्पतालका चिकित्सक टोलीसँग घाइतेको पछिल्लो स्वास्थ्य स्थिति र उपचारको प्रगतिका बारेमा प्रत्यक्ष जानकारी लिनुभएको छ । चिकित्सकहरूसँगको परामर्श र अवस्थाको गम्भीरतालाई ध्यानमा राख्दै उहाँहरूले बिरामीलाई तत्काल भारत लैजान आवश्यक प्राविधिक तथा व्यवस्थापकीय तयारी चुस्त बनाउन निर्देशन दिनुभएको छ ।
राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरेका मुगुका गणेश नेपालीलाई भारत लैजाने तयारी, सम्पूर्ण उपचार खर्च नेपाल सरकारले व्यहोर्ने ।
2 Mins Read


