फ्लाइदुबईको विमान एफजेड १०७३ उडानका क्रममा पाइलटहरुको झडपको कारणले साउदी अरबमा आपत्कालीन अवतरण ।
२०८३ असोज १५, बिहिबार ।
हिजो दिउसो दुबईबाट इजरायलको तेल अभिभतर्फ उडेको फ्लाइदुबईको विमानमा ककपिटभित्रै दुई पाइलटबीच झडप भएको विवरण सार्वजनिक भएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार फ्लाइदुबईको एफजेड १०७३ उडानमा भारतीय क्याप्टेन स्मित मच्छरमाथि उनका ओमानी सहपाइलटले चक्कुले आक्रमण गरेका थिए। आक्रमणमा घाइते भए पनि क्याप्टेनले विमानको नियन्त्रण कायम राखेको र करिब १८० यात्रुको सुरक्षामा भूमिका खेलेको दाबी गरिएको छ।
घटनापछि विमानबाट पहिले ‘७७००’ र त्यसपछि ‘७५००’ आपत्कालीन संकेत प्रसारण भएको बताइएको छ। ‘७५००’ संकेत विमानमा गैरकानुनी हस्तक्षेप वा सम्भावित अपहरणको अवस्थाका लागि प्रयोग गरिन्छ। उक्त संकेत प्राप्त भएपछि इजरायलले लडाकु विमानसमेत परिचालन गरेको रिपोर्टमा उल्लेख छ।
फ्लाइट ट्र्याकिङ विवरणअनुसार विमान करिब ३४ हजार फिटको उचाइबाट तीव्र रूपमा घटेर करिब १७ हजार फिटसम्म पुगेको थियो। त्यसपछि विमानलाई साउदी अरबको तबुक विमानस्थलमा सुरक्षित अवतरण गराइएको बताइएको छ। यात्रुहरूले ककपिटबाट चिच्याएको आवाज सुनेको र त्यहाँ रगत देखिएको बताएका छन्। केही रिपोर्टमा यात्रुहरूले ककपिटमा पुगेर स्थिति नियन्त्रणमा लिन सहयोग गरेको उल्लेख भए पनि चक्कु प्रहारलगायत घटनाको वास्तविक क्रमबारे पूर्ण विवरण अनुसन्धानपछि मात्रै स्पष्ट हुने देखिएको छ। फ्लाइदुबईका अनुसार विमान तबुकमा सुरक्षित अवतरण गरेको छ र यात्रु तथा चालक दलका सदस्यहरू सुरक्षित छन्। दुवै पाइलटलाई उपचारका लागि अस्पताल लगिएको बताइएको छ। घटना किन सुरु भयो, सहपाइलटले क्याप्टेनमाथि आक्रमण गर्नुको कारण के थियो र झडपका क्रममा विमानको नियन्त्रणमा कति असर परेको थियो भन्ने विषयमा सम्बन्धित निकायले अनुसन्धान गरिरहेका छन्।
फ्लाइदुबईको विमान एफजेड १०७३ उडानका क्रममा पाइलटहरुको झडपको कारणले साउदी अरबमा आपत्कालीन अवतरण ।
2 Mins Read


