नेपाली कांग्रेसको १५ औं महाधिवेशन अन्र्तरगत असोज ३ र ४ गते हुने वडा अधिवेशनको सम्पूर्ण तयारी पूरा ।
२०८३ भाद्र ३१, बुधबार ।
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको मिति २०८२ चैत्र ११ गतेको निर्णयानुसार केन्द्रीय निर्वाचन समितिले २०८३ भाद्र ०२, प्रकाशन गरेको कार्यतालिका अनुसार मिति २०८३ असोज १६ देखि १९ गतेसम्म सम्पन्न हुने गरी नेपाली कांग्रेसको १५ औं केन्द्रीय महाधिवेशन तोकि विभिन्न तह र निकायको निर्वाचन कार्यतालिका प्रकाशित भएको व्यहोरा सबैमा अवगत नै छ । उक्त कार्यतालिका बमोजिम केन्द्रीय निर्वाचन समितिले निर्वाचन प्रतिनिधि तोकी अभिमुखिकरण कार्यक्रम समेत शुरू गरी अधिवेशन प्रक्रिया सम्पन्न भैसकेको छ ।
निर्वाचन कार्यतालिका अन्तरगतका सम्पूर्ण कार्यक्रमहरु सकेर अब १५औँ केन्द्रीय महाधिवेशन अन्तर्गत असोज ३ र ४ गतेदेखि सुरु हुने वडा अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । बुधबार पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा केन्द्रीय निर्वाचन समितिले वडा अधिवेशन सहित महाधिवेशन अन्तर्गतका अन्य अधिवेशनको तयारीसमेत पूरा भएको जनाएको हो ।
केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालका अनुसार महाधिवेशन प्रतिनिधि, प्रदेशसभा क्षेत्र सभापति र पालिका सभापतिसहित ६ हजार ५२८ प्रतिनिधि चयन हुने अनुमान गरिएको छ । विदेशीस्थित जनसम्पर्क समिति, भ्रातृ संस्था तथा शुभेच्छुक संस्थासमेतको संख्या जोड्दा करिब ७ हजार महाधिवेशन प्रतिनिधि रहनसक्ने उनले बताए । उनका अनुसार रसुवा, नुवाकोट र धादिङलगायत केही स्थानबाहेक कांग्रेसका ८ लाख ७० हजार क्रियाशील सदस्य रहेका छन् ।
पत्रकार सम्मेलनमा कांग्रेस केन्द्रीय निर्वाचन समिति संयोजक प्रेमबहादुर खड्काले केन्द्रीय महाधिवेशन सम्पन्न गर्न आवश्यक महाधिवेशन प्रतिनिधि वडा, क्षेत्र र प्रदेशको निर्वाचन प्रक्रियाबाट तयार हुने भएकाले सोही आधारमा निर्वाचन प्रक्रिया अघि बढाइएको बताए । बाढी प्रभावित केही स्थानमा मात्रै समस्या
संयोजक खड्काले बाढी प्रभावित धादिङका दुई गाउँपालिकामा मात्र केही अप्ठ्यारो रहेको बताए । अन्य स्थानमा बाढीका कारण खासै असर नरहेको उनको भनाइ छ । त्यस्तै, नुवाकोटमा मुख्यतया २ नम्बर वडाबाहेक अन्य वडामा अधिवेशन गर्न कुनै बाधा नदेखिएको उनले जानकारी दिए ।



