गभर्नर कार्यकालको पाँच वर्षबाट तीन वर्षमा कायम गर्ने विषय अर्थ समितिमा छलफल ।
२०८३ भाद्र ०४, बिहिबार ।
नेपाल राष्ट्र बैंकका गभर्नर र सञ्चालक समितिका सदस्यको कार्यकाल पाँच वर्षबाट घटाएर तीन वर्ष कायम गर्ने सहमति भएको छ । सिंहदरबारमा बिहीबार बसेको प्रतिनिधिसभाअन्तर्गतको अर्थ समिति बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयक माथिको दफावार छलफलका क्रममा गभर्नर र सञ्चालकको कार्यकाल तीन वर्षमा सीमित गर्ने सहमति भएको हो । समिति सभापति कृष्णहरि बुढाथोकीका अनुसार राष्ट्र बैंकका गभर्नर र सञ्चालक समितिका सदस्यको हालको पाँच वर्षे कार्यकाललाई तीन वर्षमा सीमित गर्ने सहमति भएको हो । शुरुमा ३ बर्षको गर्ने र पछि कार्यसम्पादनका आधारमा पदावधि थप गर्न सकिने व्यवस्थाबारे समेत समितिमा छलफल भएको छ।
डेपुटी गभर्नर र सञ्चालकको प्रारम्भिक पदावधि तीन वर्षको हुने व्यवस्था कायम गर्ने निर्णय भएको छ । कार्यसम्पादन मूल्याङ्कन गर्दा सन्तोषजनक देखिएमा नेपाल सरकारले थप दुई वर्ष पदावधि थप गर्नसक्ने व्यवस्था विधेयकको दफा १८ को उपदफा (१) र (२) मा राख्ने निर्णय भएको सभापति बुढाथोकीले बताए । उनका अनुसार राष्ट्र बैंक ऐन संशोधनसम्बन्धी विधेयकमाथि समितिमा शुक्रबार पनि दफावार छलफल जारी रहनेछ ।
गभर्नर कार्यकालको पाँच वर्षबाट तीन वर्षमा कायम गर्ने विषय अर्थ समितिमा छलफल ।
1 Min Read


