एपीएफ स्कुलकी लेखा अधिकृत इन्स्पेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामालाई पक्राउ ।
२०८३ असार २२, आइतबार ।
सशस्त्र प्रहरीको एपीएफ स्कुल कीर्तिपुरमा विगत ६ वर्षदेखि लेखा अधिकृतका रूपमा कार्यरत इन्स्पेक्टर गुरुङ आर्थिक अनियमिता गरेको अभियोगमा पक्राउ परेकी छन। २०८२ माघ र फागुनमा ७ करोड रुपैयाँको हिसाब नभेटिएपछि छानबीन शुरू भएको थियो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)ले सशस्त्र प्रहरी कल्याणकारी कोषद्वारा सञ्चालित एपीएफ स्कुलकी लेखा अधिकृत इन्स्पेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामालाई पक्राउ गरेको छ । सिआईबीस्रोतका अनुसार एपीएफ स्कुलमा भएको आर्थिक अनियमितता छानबीन गर्न गठित सशस्त्र डीआईजी युवराज अर्याल संयोजकत्वको समितिको सिफारिसअनुसार उनीहरुलाई शनिबार पक्राउ गरिएको हो । उनीहरूलाई मुद्दाको थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर, भद्रकालीलाई बुझाइएको सिआईबीस्रोतले जनाएको छ । छानबिनक्रममा इन्स्पेक्टर गुरुङले एपीएफ स्कुलले सशस्त्र मुख्यालयस्थित कल्याणकारी कोषमा दाखिला गर्नुपर्ने रकम प्रेमी लामाको खातामा हाल्ने र उनले मिटर ब्याजमा पैसा चलाउने गरेको खुलेको थियोे ।
सशस्त्र प्रहरीको खातामा जानुपर्ने रकम कनेक्ट आइपिएसबाट एम एडभन्चर ट्राभल एण्ड टुर्स, हाम्रो टिकेट प्रा.लि. र एमडी होलिडेज प्रालिको खातामा गएको पाइएको छ । उनीहरुमाथि अपराधिक विश्वासघात, ठगी र सम्पत्ति शुद्धिकरणमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । इन्स्पेक्टर गुरुङले कनेक्ट आईपीएसको फारममा स्कुलका तत्कालीन समादेशक एसएसपी (हाल डीआईजी) दिग्विजय सुवेदीको नक्कली हस्ताक्षर गरेकी थिइन् । अनुसन्धानस्रोतका अनुसार उनले कनेक्ट आईपीएसबाटै लीलाबहादुर सञ्चालक रहेका तीन कम्पनीका खातामा रकम हालेकी थिइन् । उनले एमडी एडभेन्चर ट्राभल एण्ड टुर्स, हाम्रो टिकट प्रालि र एमडी होलिडे प्रालिका खातामा पैसा हालेको खुलेको छ ।
जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार सशस्त्र प्रहरीकै पत्रका आधारमा दुईजनालाई पक्राउ गरिएको हो । ‘सशस्त्र प्रहरीबाटै आएको पत्रका आधारमा दुईजनालाई पक्राउ गरेर अनुसन्धान थालेका छौँ,’ उनले भने, ‘विद्यालयको रकम हिनामिना गरिएको भन्ने विषय छ, विस्तृत हेर्दै छौँ ।’ स्रोतका अनुसार यसमा आपराधिक लाभसँगै सम्पत्ति शुद्धीकरणको कसुरमा समेत अनुसन्धान गर्न लागिएको छ । हिनामिनामा सशस्त्रका अन्य उच्च अधिकारी पनि तानिने सम्भावना छ । इन्स्पेक्टर गुरुङले ६ वर्ष लगातार सो स्कुलमा लेखापाल भएर काम गरेकी थिइन् । उनी एक्लैबाट यति ठुलो रकम हिनामिना सम्भव नभएको स्रोत बताउँछ ।
यो प्रकरणमा विद्यालयका तत्कालीन कमान्डेन्टहरू दिग्विजय सुवेदी, भूपेन्द्र केसी र रामजंग पाण्डे पनि छानबिनमा छन् । सुवेदी हाल डिआजी, केसी एसएसपी र पाण्डे एसपी छन् । यद्यपि, उनीहरूको प्रत्यक्ष संलग्नता देखिएको छैन । बैंकको समेत मिलेमतोको आशंका गरिएको छ । एनआइसी एसिया बैंकको कीर्तिपुर शाखामा विद्यालयको खाता छ । लाजिम्पाटको शाखाबाट सधैँ पैसा निकालिएको छ । प्रक्रिया पूरा नगरी रकम निकालिएको समेत छानबिनबाट खुलेको छ ।


