सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दाको अनुसन्धानको लागी नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई कार्यक्रम स्थलबाटै पक्राउ ।
२०८३ असार ०९, मंगलबार
नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल सोमबार साँझ सुर्खेतमा पक्राउ परेका छन । उनलाई पार्टीले आयोजना गरेको कार्यक्रमस्थलबाटै प्रहरीले समातेर लगेपछि एमालेका नेता–कार्यकर्ता स्तब्ध बनेका छन् । पार्टीको चुनावी समीक्षा एवं पुनर्गठन कार्यदलको सुझाव सङ्कलनअन्र्तगत कर्णाली प्रदेशस्तरीय कार्यक्रममा भाग लिन पौडेलसहितका नेताहरु सुर्खेत पुगेका थिए । कोशी, लुम्बिनी, सुदूरपश्चिमको कार्यक्रम सकाएर आइतबार मात्रै टोली त्यहाँ पुगेको हो ।
सोमबार बिहान ११ बजेबाट सुर्खेतस्थित शुभ होटलमा कार्यक्रम चलिरहेको थियो । एमाले कर्णाली प्रदेश कमिटीका पदाधिकारीहरु, प्रदेशका सबै जिल्लाका पदाधिकारीहरु र प्रदेशबाट केन्द्रमा रहेका नेताहरु सहभागी यो कार्यक्रममा नेताहरुले पक्ष र विपक्षमा आफ्ना धारणाहरु राखिरहेका थिए । प्रदेशका अधिकांश जिल्ला तथा अन्य नेताहरुले बोलिसकेका थिए ।
सुर्खेतका नेताहरुले मात्र बोल्न बाँकी रहेको समयमा एक्कासी सनसनीपूर्ण खबर आयो–नेता विष्णु पौडेललाई पक्राउ गर्न प्रहरी आइपुग्यो । कार्यक्रमस्थलमा रहेका एमाले केन्द्रीय सदस्य रुद्र शाहीका अनुसार सादा पोशाकमा रहेका प्रहरीले ‘माथिको निर्देशन’ भन्दै हल बाहिर बोलाए । उनीहरुसँगै सुर्खेतका एसपी ठाकुर पोखरेल होटल परिसरमा पुगेका थिए ।
त्यहाँ कार्यक्रममा पुगेका सादा पोशाकमा प्रहरीले अनुसन्धानका लागि ‘काठमाडौँ जानुपर्यो सर’ भनेर बाहिर बोलाएका थिए । पछि एसपीले ‘माथिको आदेशानुसार जानुपर्ने’ कुरा सुनाएपछि पौडेललाई प्रहरीले लगेको हो । शाहीका अनुसार करिब ५ बजेको समयमा पौडेललाई नियन्त्रणमा लिइएको थियो । उनलाई सोमबार नै सुर्खेतबाट नेपालगञ्ज ल्याइएको छ । आज कुनै उडान नभएकाले मंगलबार बिहान मात्रै काठमाडौं पठाइने सुर्खेतका एसपी ठाकुर पोखरेलले नेपाल प्रेसलाई बताए ।
‘उहाँहरु हिजो नै सुर्खेत आउनुभएको थियो । शुभ होटलमा कार्यक्रम करिब सकिएकै थियो होला । हामीलाई माथिबाट अनुसन्धानका लागि पठाउन आदेश भएअनुसार स–सम्मान पठाएका हौं । आज नेपालगञ्जबाट काठमाडौँको उडान छैन भन्ने छ । भोलि बिहान नै जानुहुन्छ होला,’ एसपी पोखरेलले भने । पौडेलबाहेक अरु नेताहरुलाई केही नगरिएको र उनीहरु यतै रहेको पोखरेलको भनाइ छ । ‘पौडेल मात्रै जानुभएको हो । अरु नेताहरु यतै हुनुहुन्छ । भोलिसम्म कार्यक्रम छ भन्ने सुनेको छु,’ उनले भने । पौडेललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दाको अनुसन्धानको शिलशिलामा पक्राउ गरिएको बताइएको छ । सोमबार उनी हाल बसिरहेको काठमाडौँ भैसेपाटीस्थित निवासमा सम्पत्ति शुद्धीकरण विभागको टोलीले छापा मारेको थियो ।


