सुकुमवासी बस्तीका विद्यार्थीको पढाइमा सहजीकरण गर्न शिक्षा मन्त्रीको निर्देशन
२०८३ वैशाख १५ गते
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले सुकुमवासीलाई स्थानान्तरण गर्दा मर्कामा परेका विद्यार्थीको सुरक्षा र सहजीकरणबारे छ बुँदे सर्कुलर जारी गर्नुभएको छ । मन्त्रीको निर्देशनपछि मन्त्रालय अन्तर्गतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले स्थानान्तरण हुँदा त्यहाँ विद्यार्थीको परीक्षा व्यवस्थापन प्रभावित भएकाले विद्यालय समायोजन तथा समन्वयलाई प्रभावकारी बनाउन विभिन्न निर्देशन तथा अनुरोध जारी गरेको छ ।
केन्द्रले सुकुमवासी हटाउँदा प्रभावित विद्यार्थीलाई पायक पर्ने विद्यालयमा स्थानान्तरण गर्न सहजीकरणका लागि सबै स्थानीय तहलाई अनुरोध गरेको छ । त्यस्तै कक्षा १२ को परीक्षामा सहभागी हुने परीक्षार्थीलाई परीक्षा केन्द्रसम्म जान आवश्यक सहजीकरण गर्न र विद्यालय नै प्रभावित भएको ठाउँमा वैकल्पिक व्यवस्था गर्न÷गराउन अनुरोध गरेको छ । कक्षा १२ को परीक्षा सोमबारदेखि सुरु
भएको छ । सुकुमवासी बस्तीका विद्यार्थी तथा विद्यालयसँग सम्बन्धित अन्य कुनै गुनासो, समस्या या सुझाव भए पनि केन्द्रमा पठाउन स्थानीय तहलाई मन्त्रालयले अनुरोध गरेको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रका प्रवक्ता पराजुलीका अनुसार सुकुमवासी बस्तीमा रहेका तर कक्षा १२ को परीक्षा दिइरहेका विद्यार्थीको तथ्याङ्क सङ्कलन भइरहेको बताउनुभयो । सोमबार साँझसम्म अध्ययन गर्दा सुकुमवासी बस्तीमा बसेर कक्षा १२ पढिरहेका १० जना विद्यार्थीको पहिचान भएको तर उनीहरू अहिले आफन्तको घरमा बसेर परीक्षा दिइरहेको पाइएको पराजुलीले बताउनुभयो ।
सुकुमवासी बस्तीका विद्यार्थीको पढाइमा सहजीकरण गर्न शिक्षा मन्त्रीको निर्देशन
1 Min Read

