निर्वाचन सुरक्षार्थका लागी सबै सुरक्षा निकाय परिचालन (नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेनाका र राष्ट्रिय अनुसन्धान विभागले सादा पोसाकमा मार्सल टोली)
२०८२ फागुन ११, सोमबार ।
गृह मन्त्रालयले सात वटै प्रदेशका लागि निर्वाचन सुरक्षा डेस्क स्थापना गरी सात सहसचिवलाई खटाएको छ । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागले निर्वाचन विरोधी गतिविधि निगरानी र नियन्त्रणका लागि सादा पोसाकमा ‘मार्सल टोली’ पनि यसअघि नै परिचालन गरेका छन् । निर्वाचन सुरक्षालाई लक्ष्य गरेर सरकारले सातवटै प्रदेशमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल (एपीएफ)बाट थप टोली परिचालन गरेको छ । गृह मन्त्रालयले दुवै प्रहरी प्रधान कार्यालयबाट डीएसपीदेखि एसएसपीसम्मको नेतृत्वमा थप टोली खटाएको हो । उनीहरूलाई मतदान सकिएपछि मात्रै फिर्ता हुन भनिएको छ ।
निर्वाचन सुरक्षाका लागि यसअघि तैनाथ सुरक्षाकर्मीका अलावा थप टोली परिचालन गरिएको हो । टोलीलाई ‘एकीकृत निर्वाचन सुरक्षा कार्ययोजना–२०८२’ को कार्यान्वयन अवस्था, सुरक्षा विश्लेषण, अनुगमन, नियमन, फिल्डमा देखिएका चुनौती तथा अवलम्बन गर्नुपर्ने सुधारका उपायसहित केन्द्रमा प्रतिवेदन बुझाउन र फिल्डमा समन्वय गर्न निर्देशन दिइएको छ । सशस्त्र प्रहरीले एसएसपीको नेतृत्वमा छुट्टाछुट्टै २३ टोली परिचालन गरेको छ । प्रत्येक टोलीलाई ३ देखि ४ जिल्ला हेर्ने जिम्मेवारी तोकिएको सशस्त्र प्रहरी प्रवक्ता डीआईजी विष्णुप्रसाद भट्टले जानकारी दिए । प्रहरी प्रधान कार्यालयले ७७ वटै जिल्लामा एसपीरडीएसपीको नेतृत्वमा छुट्टाछुट्टै टोली खटाएको छ । प्रहरीले सुरक्षा दृष्टिकोणबाट संवेदनशील र अतिसंवेदनशील मानिएका निर्वाचन क्षेत्रमा तीनवटासम्म र अरूमा एक–एक केन्द्रीय टोली परिचालन गरेको छ ।
गृह मन्त्रालयले मधेश प्रदेशको सुरक्षा वस्तुस्थिति र जोखिमलाई मध्यनजर गरेर केही दिनका लागि कार्य विभागका एआईजी उमाप्रसाद चतुर्वेदीलाई खटाएको छ । ‘केन्द्रबाट खटिएका सुरक्षाकर्मीलाई मतदान सकिएपछि मात्रै फिर्ता हुन भनिएको छ,’ गृह मन्त्रालयका सहप्रवक्ता रमा आचार्यले भनिन्, ‘उनीहरूले जिल्ला र प्रदेशस्थित आफ्ना संयन्त्रमार्फत समन्वय गर्नेछन् ।’ साथै गृह मन्त्रालयले उत्तेजक र भड्काउ अभिव्यक्ति नदिन चेतावनी दिएको छ ।
निर्वाचन सुरक्षार्थका लागी सबै सुरक्षा निकाय परिचालन (नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेनाका र राष्ट्रिय अनुसन्धान विभागले सादा पोसाकमा मार्सल टोली)
2 Mins Read


