रौतहटमा साम्प्रदायिक दंगाका कारण ठूलो क्षति
२०८२ फागुन १०, आइतबार ।
फागुन ७ गते रौतहटको सदरमुकाम गौरमा दुई समुदायबीच भएको सामान्य भनाभन तीन दिनमै उग्र साम्प्रदायिक दंगामा परिणत भएको छ। तोडफोड, आगजनी र ढुंगा हानाहानका घटना बढ्दै गएपछि अन्ततः प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ। सदरमुकामबाट सुरु भएको विवाद क्रमशः अन्य स्थानमा समेत फैलिएको छ। गौर नगरपालिकाका विभिन्न वडामा धार्मिक स्थल र सवारी साधन लक्षित आक्रमण भएपछि सुरक्षा अवस्था अत्यन्त संवेदनशील बनेको छ।
४ मस्जिदमा आगजनी, सवारी साधनमा क्षति, ७ जना घाइते, कडा सुरक्षा व्यवस्था, २० जना नियन्त्रणमा
प्राप्त प्रारम्भिक विवरणअनुसार रौतहटको चार स्थानको मुस्लिम समूदायको धार्मिक स्थल मस्जिदमा आगजनी गरिएको छ । गौर नगरपालिका–४ स्थित गुप्ता पेट्रोल पम्प नजिक रहेको मस्जिदमा आगजनी गरिएको छ। त्यस्तै, गौर नगरपालिका–५ को उत्तरपट्टि रहेको अर्को मस्जिदमा समेत आगो लगाइएको छ। गौर नगरपालिका–८ पुरेनवामा निर्माणाधीन मस्जिदमा सामान्य तोडफोड गरिएको छ। धार्मिक स्थलमा लक्षित आक्रमण भएपछि स्थानीयस्तरमा त्रासको अवस्था सिर्जना भएको छ।
सोही दंगाका क्रममा हालसम्म ५ वटा मोटरसाइकल, २ वटा स्कुटर, १ वटा स्कार्पियो गाडी र १ वटा ई–रिक्सा गरी जम्मा ९ वटा सवारी साधन पूर्ण रूपमा जलेर नष्ट भएका छन्।त्यसैगरी २ वटा मोटरसाइकल र १ वटा ई–रिक्सा गरी ३ वटा सवारी साधन तोडफोड गरिएको छ। क्षतिको विस्तृत मूल्यांकन कार्य जारी रहेको छ।
ढुंगा हानाहानका क्रममा गौर नगरपालिका–६ निवासी अन्दाजी ४६ वर्षीय भगरित साहको टाउकोमा चोट लागेको छ। उनको अवस्था सामान्य रहेको जनाइएको छ। यसअघि घाइते भएका ६ जना स्थानीय उपचारपछि डिस्चार्ज भइसकेका छन् भने घटनामा घाइते भएका २ जना प्रहरी कर्मचारीसमेत उपचारपछि कार्यालय फर्किएका छन्।रौतहट प्रशासनले दंगा भड्काउने आरोपमा जनमत पार्टीका नेता शेख जमशेद सहित करिब २० जना लाई नियन्त्रणमा लिइ अनुसन्धान गरिरहेको छ । सामाजिक परिवेशमा खलल पुर्याउनेहरुलाई नियन्त्रणमा लिई प्रशासनले अनुसन्धान थालेको छ ।
घटनापछि गौर क्षेत्रमा नेपाल प्रहरीले सुरक्षा व्यवस्था कडा बनाएको छ। संवेदनशील क्षेत्रमा अतिरिक्त प्रहरी तथा सशस्त्र प्रहरी परिचालन गरिएको छ। गत ७ गतेदेखि सुरु भएको दंगा अहिलेसम्म् नियन्त्रणमा नआएपछि यसको असर आगामी निर्वाचनसम्म पर्ने देखिएको छ । जसको कारणले तीनै तहको सुरक्षाकर्मीलाइ हाइअलर्टमा परिचालन गरिएको छ भने प्रशासनले सर्वसाधारणलाई संयमित रहन, अफवाहमा विश्वास नगर्न तथा सामाजिक सद्भाव कायम राख्न अपिल गरेको छ। अवस्था नियन्त्रणमा ल्याउने प्रयास जारी रहेको सुरक्षा स्रोतले जनाएको छ।
रौतहटमा साम्प्रदायिक दंगाका कारण ठूलो क्षति ।
2 Mins Read


