काठमाण्डौ महानगरभित्रका विद्यालयमा शिक्षक र विद्यार्थीको हाजिरी ७ दिनभित्र डिजिटल बनाउनु –कार्यबाहक मेयर डंगोल
२०८२ माघ १४, बुधबार ।
काठमाडौं महानगरपालिकाका कार्यवाहक मेयर सुनिता डंगोलले सामुदायिक विद्यालयका शिक्षक, कर्मचारी र विद्यार्थीहरुको हाजिरी ७ दिनभित्र पूर्ण रुपमा डिजिटल बनाउन निर्देशन दिएकी छन् । मंगलबार चालु आर्थिक वर्षमा सम्पन्न काम, थालिएका असल अभ्यासका विषयमा जानकारी लिँदै डंगोलले शिक्षा विभाग र सूचना प्रविधि विभागलाई शिक्षक, कर्मचारी र विद्यार्थीहरुको हाजिरी ७ दिनभित्र पूर्ण रुपमा डिजिटल बनाउन निर्देशन दिएकी हुन्। विभागीय र क्षेत्रगत कामको नतिजाका लागि नीतिगत रुपमा गर्न पर्ने सहजीकरणका विषयमा जानकारी लिने क्रममा डंगोलले शिक्षा विभागका अधिकारीसँग छलफल गरेकी हुन्।
‘नियमितता विद्यार्थीको मात्र होइन । शिक्षक र कर्मचारीको पनि चाहिन्छ । दिवा खाजालाई डिजिटल हाजिरीसँग आवद्ध गराउनु पर्छ ।’ उनले भनिन्, ‘हामी एसईईको नजिक आउन लागेका छौँ । गएको वर्ष प्राप्त नतिजा क्रमशः बढाउँदै लैजानुपर्छ । तयारी कक्षा, अतिरिक्त कक्षा, शिक्षक र कक्षा थप लगायत आवश्यक पर्ने कुनै पनि काममा कमजोरी हुन नदिनु । तथ्यले नतिजामा सुधार देखिनुपर्छ । यसमा छुट सुविधा कसैलाई हुँदैन ।’ छलफलका क्रममा भृकुटीमण्डपमा रहेको पुस्तकालयमा गरिएको सहयोगबाट प्राप्त भएको नतिजा, सामुदायिक विद्यालयको पूर्वाधार परीक्षणको प्रतिवेदन, शिक्षामा सिपलगायत कार्यक्रमको गुणस्तर र यसको सुधारका पक्षमा छलफल भएको थियो ।
यस्तै दर्ता भएका तर, सञ्चालनमा नरहेका विद्यालयहरुको खारेजी प्रक्रिया, सामाजिक विकास विभाग अन्तर्गत व्यवसायमा दर्ता भएर सञ्चालित प्रारम्भिक बाल विकासका कक्षाहरुको व्यवस्थापन, विद्यालय स्तरका खेल र अतिरिक्त क्रियाकलाप लगायत विषय समेटिएका थिए । यस सँगै अझ धेरै कुराहरु शिक्षा विभागबाट सुधार गर्नुपर्ने देखिन्छ । जसमा विद्यालयहरुलाई दिने भनेर किनेर राखेका स्मार्ट बोर्डहरु एउटा विद्यालयमा थुपारेर राख्नु, अंगे्रजी नाम परिवर्तको विषय, विद्यालयअरुलाई मनलाग्न अडिट नियुक्ती दिने नलाग्दा नदिने, शिक्षा विभागबाट हुने काममा ढिला सुस्ती हुने, दोषीलाई कारबाही नगरी मिलेमतोमा छोडिदिने जस्ता कार्यहरु अहिले पनि भएकोले तपाईको कार्यकालमा सुधार गर्न जरुरी रहेको जानकारी गराउदछौ, त्यसमा ध्यान जाओस ।


