निर्वाचन आयोगले आगामी फागुन २१ गते सम्पन्नहुने चुनावकालागी मतदान निर्देशिका जारी गरेको छ ।
यदि फर्जी मतदान गरेको पाइएमा २५ हजार जरिवाना ।
२०८२ पौष ३०, बुधबार ।
आगामी फागुन २१ गते सम्पन्नहुने प्रतिनिधि सभा सदस्य निर्वाचन निर्वाचनलाई व्यवस्थित, मर्यादित र धाँधलीरहित बनाउन निर्वाचन आयोगले ‘प्रतिनिधि सभा सदस्य निर्वाचन (मतदान) निर्देशिका, २०८२’ जारी गरेको छ । प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ८० ले दिएको अधिकार प्रयोग गरी बनाइएको यो निर्देशिका मतदान प्रक्रियाको लागि एक मुख्य अंश जस्तै हो, जसले मतदान केन्द्रको छनोटदेखि मतपेटिका संकलनसम्मको हरेक चरणलाई कानुनी र व्यावहारिक रूपमा व्याख्या गरेको छ । निर्देशिकामा निर्वाचन सम्पन्न गर्न खटाइने जनशक्तिको व्यवस्थापन र उनीहरूको उत्तरदायित्वलाई स्पष्ट पारेको छ ।
मतदान केन्द्र वरिपरि सभा, जुलुस वा नाराबाजी गरेमा २५ हजार रुपैयाँसम्म जरिवाना
निर्देशिकाको व्यवस्था अनुसार मतदान हुनुभन्दा ४८ घण्टा अघिदेखि ‘प्रचार–प्रसार निषेध’ (मौन अवधि) सुरु हुनेछ ।
निर्देशिकाको दफा २३ बमोजिम, मतदान अधिकृतले आफ्नो केन्द्र वरिपरि कुनै पनि दल वा उम्मेदवारको पक्ष वा विपक्षमा सभा, जुलुस वा नाराबाजी गर्न नपाउने सूचना टाँस गर्नुपर्नेछ । यदि कसैले यसको उल्लंघन गरेमा २५ हजार रुपैयाँसम्म जरिवाना हुनसक्ने कडा प्रावधान राखिएको छ । निर्देशिकाले मतदान केन्द्रको वरिपरि ३०० मिटरसम्मको क्षेत्रलाई नियन्त्रित क्षेत्रको रूपमा तोकेको छ, जहाँ सुरक्षाकर्मी बाहेक अरूले हतियार वा निषेधित सामग्री लैजान पाउने छैनन् ।
प्रतिनिधिको रोहबरमा ‘सुरक्षण सिल’ लगाई मतदान सुरु भएको मुचुल्का उठाउनुपर्ने
मतदानको दिन बिहान ७ बजेदेखि मतदान सुरु हुनेछ । तर, मतदान अधिकृतले बिहानै उम्मेदवारका प्रतिनिधिको रोहबरमा खाली मतपेटिका देखाएर, त्यसलाई ‘सुरक्षण सिल’ लगाई मतदान सुरु भएको मुचुल्का उठाउनुपर्नेछ । मतदान प्रक्रियालाई दुई भागमा विभाजन गरिएको छ, जसमा पहिलो हुने निर्वाचित हुने प्रणालीका लागि सेतो पृष्ठभूमिमा रातो रङको विवरण भएको स्टिकर टाँसिएको मतपेटिका हुनेछ । समानुपातिक निर्वाचन प्रणालीका लागि सेतो पृष्ठभूमिमा कालो रङको विवरण भएको स्टिकर टाँसिएको छुट्टै मतपेटिका हुनेछ । मतदाताले पहिले पहिलो हुने निर्वाचित हुने प्रणालीका लागि मतदान गर्नेछन् र त्यसपछि मात्र समानुपातिकतर्फको मतपत्र प्राप्त गर्नेछन् ।
अर्काको नाममा भोट हाले २५ हजार जरिवाना, ‘निविदा मतपत्र’मार्फत मतदान गर्न पाउने
निर्देशिकामा ‘नाम ढाँटी मतदान गर्न आउने व्यक्ति’लाई रोक्न विशेष व्यवस्था गरिएको छ । यदि कसैले अर्काको नाममा भोट हाल्न खोजेमा उम्मेदवार वा प्रतिनिधिले १०० रुपैयाँ धरौटी राखेर उजुरी गर्न सक्नेछन् । छानबिन गर्दा नाम ढाँटेको पुष्टि भएमा त्यस्ता व्यक्तिलाई तुरुन्त २५ हजार रुपैयाँसम्म जरिवाना गरी कारबाहीको दायरामा ल्याइनेछ ।
त्यस्तै, यदि कुनै मतदाताको नाममा अरू कसैले पहिले नै भोट हालिसकेको पाइएमा, वास्तविक मतदाताले आफ्नो परिचय पुष्टि गरेपछि ‘निविदा मतपत्र’ मार्फत मतदान गर्न पाउने अधिकार सुरक्षित गरिएको छ । यस्तो मत मतपेटिकामा नखसाई छुट्टै खाममा राखिनेछ ।
आफैँ मतदान गर्न नसक्नेका लागि परिवारको सदस्य वा मतदान अधिकृतको सहयोग लिइने
दृष्टिविहीन वा शारीरिक अशक्तताका कारण आफैँ मत सङ्केत गर्न नसक्ने मतदाताका लागि निर्देशिकाले परिवारको सदस्य वा मतदान अधिकृतको सहयोग लिन सक्ने सुविधा दिएको छ । तर, यस्तो सहयोग लिँदा मतदाताको गोपनीयता भंग नहुने गरी मतदान अधिकृतले विशेष ध्यान दिनुपर्नेछ । गर्भवती, सुत्केरी, बिरामी र किरियापुत्रीलाई मतदानमा पहिलो प्राथमिकता दिने व्यवस्था गरिएको छ ।
४८ घण्टा अघिदेखि सम्पन्न नभएसम्म मादक पदार्थ बिक्री–वितरण र सेवनमा प्रतिबन्ध
निर्वाचनलाई निष्पक्ष बनाउन मतदान केन्द्रमा मोबाइल फोन, क्यामेरा, सलाई, लाइटर, तेजाब वा कुनै पनि प्रज्वलनशील पदार्थ लैजान पूर्ण निषेध गरिएको छ । साथै, मतदान हुनुभन्दा ४८ घण्टा अघिदेखि मतदान सम्पन्न नभएसम्म मादक पदार्थ बिक्री–वितरण र सेवनमा पूर्ण प्रतिबन्ध लगाइएको छ । निर्देशिकाको दफा २५ ले यसलाई कडाइका साथ पालना गराउन मतदान अधिकृत र सुरक्षाकर्मीलाई अधिकार दिएको छ ।
मतदानको समय सकिएपछि पनि लाइनमा बसेका मतदाताले भोट हाल्न पाउने
साँझ ५ बजे मतदानको समय समाप्त भएपछि पनि लाइनमा बसेका मतदाताले भोट हाल्न पाउनेछन् । त्यसपछि मतपेटिकाको मुख बन्द गरी आयोगले उपलब्ध गराएको विशिष्ट नम्बरसहितको ‘सुरक्षण सिल’ लगाइनेछ । मतपेटिका र निर्वाचन सामग्रीलाई सुरक्षित रूपमा मुख्य निर्वाचन अधिकृतको कार्यालय वा तोकिएको संकलन केन्द्रसम्म पुर्याउने जिम्मेवारी मतदान अधिकृतको हुनेछ । बाटोमा मतपेटिकाको सिल चुँडिएमा वा नोक्सान भएमा त्यसको तत्काल प्रतिवेदन दिनुपर्ने र गम्भीर अवस्थामा मतदान रद्द गरी पुनः मतदानको प्रक्रिया सुरु गर्नुपर्ने व्यवस्था समेत निर्देशिकामा छ ।
यो निर्देशिकामा ३२ वटा अनुसूची समेत समावेश छन् । जसमा मतदान केन्द्रको ढाँचा (नक्सा), शपथ ग्रहणको फाराम, मतपत्रको फाँटवारी, मुचुल्काको ढाँचा र उजुरीका फाराम लगायत स्पष्ट रूपमा दिइएको छ । यसले निर्वाचनमा खटिने कर्मचारीलाई काम गर्न कानुनी अलमल हुन दिँदैन ।आयोगले जारी गरेको ‘प्रतिनिधि सभा सदस्य निर्वाचन (मतदान) निर्देशिका, २०८२’ ले निर्वाचनको प्राविधिक र कानुनी पक्षलाई मात्र नभएर मतदाताको आत्मसम्मान र सुरक्षालाई पनि उत्तिकै महत्त्व दिएको छ । फागुन २१ गते हुने निर्वाचनमा ‘एक मत’ को पनि ठूलो महत्त्व हुने र त्यो मत सुरक्षित तवरले बाकससम्म पुगोस् भन्ने उद्देश्य निर्देशिकाले राखेको छ ।
निर्वाचन आयोगले आगामी फागुन २१ गते सम्पन्नहुने चुनावकालागी मतदान निर्देशिका जारी गरेको छ ।
4 Mins Read


