नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन, पार्टीसँगै देश बदल्ने सङ्कल्प
२०८२ पौष २९, मंगलबार ।
नेपाली कांग्रेसको विशेष महाधिवेशनमा समसामयिक राजनीतिक प्रस्ताव र साङ्गठनिक प्रतिवेदन पेस गरिएको छ । महामन्त्री गगनकुमार थापाले समसामयिक राजनीतिक प्रतिवेदन र महामन्त्री विश्वप्रकाश शर्माले साङ्गठनिक सुधार सहितको प्रतिवेदन सोमबार पेस गर्नुभएको हो । महामन्त्रीद्वयको प्रतिवेदनमाथि मङ्गलबार समूहगत छलफल हुने छ । बन्दसत्रमा विधान संशोधन, नीति र नेतृत्व, शासकीय सुधारसँगै समसामयिक राजनीतिक सन्दर्भमा विमर्श हुने छ । यसअघि ‘नेपाली कांग्रेस विशेष केन्द्रीय महाधिवेशन कार्यविधि–२०८२’ पारित गरेपछि बन्दसत्रलाई सम्बोधन गर्दै प्रतिवेदन प्रस्ताव गरिएको हो । नेता मधु आचार्यका अनुसार कार्यविधिमा १४ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको पदावधि समाप्त भइसकेकाले केन्द्रीय कार्यसमिति विघटन गरी १५ औँ महाधिवेशनबाट नयाँ नेतृत्व निर्वाचित नहुँदासम्मका लागि केन्द्रीय कार्यसमिति निर्वाचित गर्ने उल्लेख छ । महामन्त्रीद्वय थापा र शर्माको प्रतिवेदनमाथि नौ वटा समूहमा छलफल हुने छ । कांग्रेसका अग्रज नेता ८८ वर्षीय श्यामकुमार खड्काले बन्दसत्रको अध्यक्षता गर्नुभएको छ । संविधान संशोधनदेखि सुशासनसम्म महामन्त्री थापाले जेनजी आन्दोलनपछि विशेष महाधिवेशनको आवश्यकता, विशेष महाधिवेशन वैधानिक प्रावधान, कांग्रेसले गर्नुपर्ने सङ्कल्प, आत्मालोचना, ऐतिहासिक विरासत र लोकतान्त्रिक निष्ठा, निरन्तरतामा नवीनता, उन्नत लोकतन्त्र र बहुलवादी समाजको विकाससँगै सुशासनका सन्दर्भमा प्रतिवेदनमा विवेचना गर्नुभएको छ । उहाँले कांग्रेस सरकारको नेतृत्वमा ऐतिहासिक संविधान सभामार्फत नेपालको संविधान बनेको १० वर्ष भएको र संविधान कार्यान्वयनको समग्र अवस्था, प्राप्त उपलब्धि र कमीकमजोरी तथा बाँकी कामका सम्बन्धमा वस्तुनिष्ठ समीक्षा आवश्यक रहेको उल्लेख गर्नुभएको छ । उहाँले लोकतान्त्रिक प्रणाली र नेपालका संविधानका आधारभूत सिद्धान्तलाई निरन्तरता दिँदै संविधान संशोधन गरी आफ्ना माग सम्बोधन गर्न उठाउँदै आएका आवाजलाई सम्मान गर्ने बताउनुभएको छ । उहाँले संविधान गतिशील र परिवर्तनशील दस्ताबेज भएकाले नागरिकको भावना अनुसार समयानुकूल संशोधन, परिमार्जन र अद्यावधिक हुँदै जानु स्वाभाविक लोकतान्त्रिक प्रक्रिया भएको बताउनुभएको छ । उहाँले भन्नुभएको छ, “कांग्रेसले प्रमुख राजनीतिक पार्टीका साथै सबै सरोकारवालासँग सघन संवाद र परामर्श गरी संविधान संशोधन गर्न पहल गर्ने छ र सम्पूर्ण नेपाली नागरिकले अपनत्व र स्वामित्व ग्रहण गर्ने साझा र समृद्ध दस्ताबेजका रूपमा विकास गर्न तथा लोकतान्त्रिक प्रव्रिmयामार्फत सहमतिका आधारमा ती माग सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्दछ ।” उहाँले लोकतन्त्रलाई प्रभावकारी र कार्यमूलक बनाउने बताउँदै लोकतन्त्रलाई केवल निर्वाचनमा मात्र सीमित नराखी निरन्तरको सहभागिता, उत्तरदायित्व र समावेशी निर्णय प्रव्रिmयामा रूपान्तरण गर्न आवश्यक रहेको बताउनुभएको छ । श्रोत गोरखापत्र दैनिक
नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन, पार्टीसँगै देश बदल्ने सङ्कल्प
2 Mins Read


