महामन्त्रीहरुले विशेष महाधिवेशन बोलाए पछि पार्टीले आपत्ति जनाउदै सहभागी नहुन चेतबानी ।
२०८२ पौष २३, बुधबार ।
महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनका लागि औपचारिक आज आह्वान गरेका छन् । बुधवार एक संयुक्त वक्तव्य जारी गर्दै उनीहरूले पुस २७ र २८ गतेका लागि विशेष महाधिवेशन बोलाएका हुन् । विज्ञप्तिमा भनिएको छ, ‘पौष २८ भित्र विशेष महाधिवेशन गर्नको लागि हस्ताक्षरकर्ता महाधिवेशन प्रतिनिधिको तर्फबाट भएको प्रयास महाधिवेशन प्रतिनिधिको वैधानिक अधिकार हो। पौष २७ र २८ का लागि तय भएको विशेष महाधिवेशन कानूनी र राजनितिक रुपमा समेत अपरिहार्य र बाध्यकारी बनेको छ ।’
विधान बमोजिम वाध्यकारी रहेको विशेष महाधिवेशन नबोलाउनु, विधानको पालना नगर्नु, जिम्मेवारी बमोजिम काम नगर्नु विधान र राजनीतिक दलसमबन्धी कानूनको विपरित भएको पनि उनीहरुले उल्लेख गरेका छन् ।
विज्ञप्तिमा भनिएको छ, ‘अतः विधानको धारा ३(१२) तथा धारा २७ (१) समेतको व्यवस्थालाई आत्मासात् गर्दै नेपाली काँग्रेसको विधानको धारा १७(२) अनुसार मिति २०८२ पौष २७ र २८ गते काठमाडौंको भृकुटीमण्डपमा हुन गइरहेको विशेष महाधिवेशनमा सहभागी भई व्यवस्थित र भव्य रूपमा सम्पन्न गर्न सम्पूर्ण महाधिवेशन प्रतिनिधिहरूलाई हार्दिक आव्ह्वान गर्दछौं ।’ विशेष महाधिवेशन कानूनी र राजनीतिकरुपमा अपरिहार्य बनेको उनीहरूको भनाइ छ ।
उता संस्थापन पक्षले भने विशेष महाधिवेशनमा सहभागी नहुन पार्टी पङ्तिलाई निर्देशन दिइसकेको छ ।
आज एक विज्ञप्ति निकाल्दै भनिएको छ, ‘यस सन्दर्भमा स्पष्ट पारिन्छ कि पार्टीको विधानमा व्यवस्था भए बमोजिम कुनै पनि तहको अधिवेशन वा विशेष महाधिवेशन बोलाउने अधिकार व्यक्तिगत रूपमा पार्टीका कुनै पनि पदाधिकारी वा सदस्यलाई नभई केवल पार्टीको केन्द्रीय कार्यसमितिलाई मात्र रहेको छ । तसर्थ, पदाधिकारी वा सदस्यहरूले व्यक्तिगत रूपमा बोलाइएको अधिवेशन वा विशेष महाधिवेशनका नाममा गरिने कुनै पनि गतिविधि पार्टीको विधानविपरीत हुने हुँदा त्यस्ता गतिविधिमा संलग्न नहुन पार्टीका सबै तहका पदाधिकारी एवं सदस्यहरु, महासमिति सदस्यहरु, महाधिवेशन प्रतिनिधिहरु, भ्रातृ एवं शुभेच्छुक संस्था तथा विदेश स्थित नेपाली जनसम्पर्क समितिका पदाधिकारी एवं सदस्यहरुलाई नेपाली कांग्रेस हार्दिक अपिल गर्दछ ।’
महामन्त्रीहरुले विशेष महाधिवेशन बोलाए पछि, पार्टीले आपत्ति जनाउदै सहभागी नहुन चेतबानी ।
2 Mins Read

