अमेरीकाबाट मात्रै बिदेशीहरु फिर्ताहुने हैनन, नेपालबाट सन् २०२५ मा ५०१ जना विदेशीहरु डिपोर्ट भएका छन् -अध्यागमन विभाग ।
२०८२ पौष २०, आइतबार
अध्यागमन विभागका प्रबक्ता श्री टिकाराम ढकालले जानकारी गराए अनुसार सन् २०२५ मा नेपालको अध्यागमन विभागले विभिन्न ३६ मुलुकका ११६ जनाको प्रवेश अस्वीकार (इन्ट्री रिफ्युज) गरेको छ। प्रवेश नदिई सम्बन्धित मुलुकमै फिर्ता गरिएकामा सबैभन्दा बढी भारत र चीनका नागरिक छन्। भिसाको म्याद सकिएका, विगतमा शंकास्पद गतिविधिमा संलग्न भएका, आपराधिक अभिलेख भएका, सुरक्षा खतराको कारण वा विगतमा पटक पटक अध्यागमन नियम उल्लंघन गरेका विदेशी नागरिकलाई अध्यागमनले नेपालमा प्रवेश दिँदैन।
यसै गरी विश्वका विभिन्न ७७ मुलुकबाट २७९० जना नेपाली डिपोर्ट भई नेपाल फिर्ता आएका छन्। सबैभन्दा बढी मलेशियाबाट ४९८, संयुक्त राज्य अमेरिकाबाट ४६२, यूनाईटेड अरब ईमिरेट्सबाट ३२३, दक्षिण कोरियाबाट २५७, जापानबाट १२८ डिपोर्ट भई आएका हुन्। सम्बन्धित मुलुकमा ओभरस्टे बसेको, अपराधमा संलग्न भई कैद भुक्तान गरेको, भिसा नलिई गैरकानूनी बसेको, सम्बन्धित मुलुकको अध्यागमन कानून विपरितको कार्य गरेको लगायतका कसूरमा डिपोर्ट गरिएको उल्लेख छ।
सन् २०२५ मा नेपालबाट ५०१ जना विदेशी डिपोर्ट भएका छन्। त्यसमध्ये ४३७ जना ओभरस्टे (नेपालमा १५० दिनभन्दा बढी पर्यटक भिसामा बसेका) र बाँकी ६४ विभिन्न अपराधमा संलग्न थिए। भिसाको उद्देश्यविपरित नेपालमा बसेका, लागूऔषध कारोवार, मानव बेचबिखन, संगठित अपराध, विदेशी मुद्रा अपचलन, अभद्र व्यवहार लगायतका कसूरजस्ता अपराधमा सजायँ भुक्तान गरी डिपोर्ट भएका हुन्।
अमेरीकाबाट मात्रै बिदेशीहरु फिर्ताहुने हैनन, नेपालबाट सन् २०२५ मा ५०१ जना विदेशीहरु डिपोर्ट भएका छन् -अध्यागमन विभाग ।
2 Mins Read


