१५ माघ २०८१ ।

शनिबार मतदान सम्पन्न भएकामध्ये भूगोलका सात प्रदेशको गणना सकिइसकेको छ। काठमाडौंको भृकुटीमण्डपमा रहेको वाल्मीकि क्याम्पसमा दुई प्रदेशको मतदान भएको थियो। तर गैरभूगोलका उपत्यका विशेष र विश्वविद्यालय प्रदेशको गणना भने सुरू नै हुन सकेको छैन। मतदान सकिएर गणना सुरू गर्ने क्रममा भएको विवाद अहिलेसम्म समाधान नहुँदा तीन दिनदेखि मतगणना हुन सकेको छैन । विवादका. मुख्य कारण मतदानमा मतदाताले प्रयोग गरेको मसी हो।
अखिल (क्रान्तिकारी)को निर्वाचन निर्देशिकामा मतदानका लागि कस्तो मसी प्रयोग गर्ने भनेर तोकिएको छैन। त्यसैले निर्वाचन समितिले वाल्मीकिमा मतदानका लागि रातो साइनपेन राखिदिएको थियो। छलफल क्रममा एक प्रतिनिधिले मतदानका क्रममा केही विद्यार्थीले आफैले ल्याएको कलमले रेजा लगाएको पाइएको बताएका थिए। केहीले त सुरूमा आफूले ल्याएको कलमले रेजा लगाएको र पछि बुथमा खटिएका प्रतिनिधिले भनेपछि मात्रै रातो प्रयोग गरेको विषय समेत छलफलमा उठेको थियो।
सोमबार विवाद समाधान गरी पेरिसडाँडामा मतगणना गर्ने तयारी थियो। त्यसका लागि मतगणनास्थलमा रहने केही प्रतिनिधिहरू पेरिसडाँडा समेत पुगेका थिए। सबै तयारी पनि गरिएको रहेछ तर मतपेटिका वाल्मीकिबाट यता ल्याउनै दिइएन,ु एक प्रतिनिधिले भने। सात प्रदेशको गणना सकिँदा अध्यक्षमा विजय प्रकाश सापकोटा र हेमन्त राईबीच टक्कर देखिएको छ। सापकोटा ४८५ र राईले ४६१ मत ल्याएका छन्। उपदेश यादवले २२१ र सुदिन पौडेलले १४४ मत प्राप्त गरेका छन्।

