०२ माघ २०८१ काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने जिल्ला अदालत काठमाडौंमा ६० लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन । अदालतप्रति एकदमै सम्मान व्यक्त गर्दै न्याय नमरेको जानकारी दिए । सहकारीको रकम अपलचन गरेको आरोपमा २ कात्तिकमा प्रहरीले पक्राउ गरेका लामिछानेलाई जिल्ला अदालत कास्कीले गत बिहीबार ६५ लाख रुपैयाँ धरौटीमा छोडेको थियो । आइतबार जिल्ला अदालत काठमाडौंमा उपस्थित भएका लामिछानको थुनछेक बहस आज सकिएको थियो ।
लामिछानेलाई सहकारी ठगीसम्बन्धी मुद्दामा ६० लाख रुपैयाँ धरौटी माग गर्नुको तीन कारण समेत दिएको छ।
आदेशमा भनिएको छ – ‘रवि लामिछाने गोर्खा मिडिया नेटवर्क प्रा।लि।का बिक्रीमा रहेको १,८०,००० सेयर खरिद गर्न अनुमति पाऊँ भनी निवेदन दिई सेयर लिएको देखिँदा निजले उक्त प्रा. लि. को सेयर खरिद गरिलिएको देखिई निज प्रतिवादी गोर्खा नेटवर्क मिडिया प्रा।लि।को सेयर होल्डर एवं प्रबन्धक निर्देशक समेत रहेको देखियो।’
दोस्रो, काठमाडौं जिल्ला अदालतले लामिछानेले गोर्खा मिडियाको सेयर होल्डर हुनुअघि नै ग्लोबल आइएमई बैंकको खातामा हस्ताक्षर चल्ने व्यवस्था रहेको आधार प्रस्तुत गरेको छ। साथै, लामिछाने प्रबन्ध निर्देशक भएको बेलामा नै स्वर्णलक्ष्मी सहकारीबाट गोर्खा मिडियामा पैसा गएको भनेको छ।
आदेशमा भनिएको छ – ‘गोरखा नेटवर्क मिडिया प्रा।लि।मा सेयर होल्डर एवं प्रबन्ध निर्देशक हुनुभन्दा अघि नै रवि लामिछाने समेतको हस्ताक्षरबाट खाता सञ्चालन गरी गोरखा नेटवर्क मिडिया प्रा।लि। को ग्लोबल आई।एम।ई। बैंकमा खाता खोली सञ्चालनमा ल्याएको, निज प्रबन्ध निर्देशक भएको बेलामा स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको सदस्य नरहेको गोरखा नेटवर्क मिडिया प्रा।लि।को सोही खातामा उक्त सहकारी संस्थाबाट रकम आएको देखियो।’
तेस्रो, अदालतले रवि लामिछानेले काटेको चेकबाट ऋण भुक्तान गरेका कारणले उनलाई तत्काल कसुरदार होइनन् भन्न सक्ने अवस्था नदेखिएको भनेको छ।

