२०८१ पौष २१ गते आईतबार।
कठमाण्डौ।
नेपाल प्रहरीका पूर्वप्रमुख सर्वेन्द्र खनालले नेकपा एमाले छाडेको जानकारी सामाजिक संजाल मार्फत दिएका छन् । आज उनले सामाजिक सञ्जाल फेसबुक मार्फत एक स्ट्याटस लेख्दै भनेका छन्, ‘हजुरहरुलाई मेरो राजनीतिक स्थितिबारे अन्यौलमा परेको महसुस गरेर म यसै माध्यमबाट स्पष्ट पार्न चाहन्छु कि म अहिले कुनै पनि राजनीतिक पार्टीसँग आबद्ध छैन ।’ यतिबेला आफू स्वतन्त्र रुपमा स्थानीय र राष्ट्रिय समस्या समाधानका लागि काम गरिरहेको उनले बताएका छन् । देश र समाज हितका लागि आफ्नो समय परिस्थिति अनुकुल सधै सक्दो कार्य गरिरहने जानकारी समेत दिएका छन्।
खनालले २६औं प्रहरी प्रमुखका रुपमा २०७४ चैतदेखि २०७६ माघसम्म नेपाल प्रहरीको नेतृत्व गरेका थिए । ३० वर्षे सेवा अवधिका कारण अवकाश भएपछि उनी नेकपा एमालेसँग जोडिएका थिए । पछि औपचारिक रुपमै ६ असोज २०७९ मा उनी एमाले प्रवेश गरे । नेकपा एमालेले खनाललाई पार्टी प्रबेस गरेको दुई महिनापछि भएको चुनावमा काठमाडौं क्षेत्र नं. ६ बाट प्रतिनिधिसभा सदस्यको टिकट पाए पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार शिशिर खनालसंग पराजित बने। पछि तनहुँमा भएको उपनिर्वाचनमा पनि खनालले उम्मेदवारी दिए त्यहाँ पनि रास्वपा नेता स्वर्णिम वाग्लेलेसंग पराजित बनेका थिए।


