२४ मंसिर २०८१, काठमाडौं ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालविरुद्ध नागरिकतामा भएको जन्ममितिको विवरण सच्याएर आफ्नो पदावधि लम्ब्याएको अभियोगमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
सिलवालले वि.स. २०३२ फागुन २४ मा पर्साबाट नागरिकता लिएका थिए, त्यतिबेला उनको नागरिकता उल्लेखित उमेर १६ वर्ष मात्रै थियो । पछि उनले जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट नागरिकताको प्रतिलिपि लिए, जसमा उनको जन्ममिति वि.स. २०१६ कार्तिक २२ थियो । तर अख्तियारको दाबी अनुसार त्रिभुवन विश्वविद्यालयको ट्रान्सक्रिप्टमा उनको जन्ममिति १५ साउन, १०१५ साल भनी उल्लेख छ ।
निजामती सेवामा प्रवेश गर्दा पनि उनले त्यही जन्ममिति अभिलेखमा राखेका थिए । त्यही विवरणका आधारमा उनले पेन्सनपट्टा पाएको, अवकाश लिएको भन्दै अख्तियारले १५ साउन, २०१५ लाई नै सिलवालले जन्ममिति स्वीकारेको आरोप लगाएको छ ।
उनी निजामती सेवामा रहँदा कुटनीतिक राहदानी र विशेष राहदानी लिएका थिए । त्यसक्रममा भरेको फर्ममा उनले २४ कार्तिक, २०१८ लाई जन्ममिति भनी उल्लेख गरेका थिए । वास्तविक भन्दा ३ वर्ष उमेर घटाएर राहदानी लिएको भन्दै अख्तियारले उनीमाथि मुद्दा चलाएको हो । ६५ वर्ष पूरा भएपछिको पदावधिमा कायम रहेको भनी अख्तियारले उनीमाथि ३६ लाख ६२ हजार रुपैयाँ बिगो मागदाबी गरेको हो । उक्त आरोपपत्र दर्ता भएसँगै सिलवाल स्वतः निलम्बनमा परेका छन् ।

