१० मंसिर २०८१, काठमाडौं ।
नेपाल धितोपत्र बोर्ड (सेबोन)ले करिब ११ महिनापछि अध्यक्ष पाएको छ। सरकारले सेबोनको अध्यक्षमा सन्तोष नारायण श्रेष्ठलाई नियुक्त गरेको छ। मन्त्रिपरिषदको आज साँझ बसेको बैठकले सन्तोष नारायण श्रेष्ठलाई नियुक्त गरेको हो। अर्थ मन्त्रालयद्वारा गठित छनौट तथा सिफारिस समितिले सर्टलिस्टमा परेका नामावली मध्येबाट ३ जनाको नाम मन्त्रिपरिषदमा सिफारिस गरेको थियो।
सन्तोष नारायण नेपाल विद्युत् प्राधिकरणका पूर्वसञ्चालक हुन्। उनी तत्कालीन नेपाल एक्सप्रेस फाइनान्समा थिए । उनी यसअघि स्वाभिमान लघुवित्तको अध्यक्षसमेत भएका थिए। अन्तर्वार्तामा सहभागी भएका नेपाल स्टक एक्सचेन्ज (नेप्से)का सीईओ कृष्णबहादुर कार्की सिफारिसमा पर्न सकेनन् भने तत्कालीन बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाइँ अन्तर्वार्तामा सहभागी नै भएनन्।
अर्थ मन्त्रालयले धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति प्रक्रियामा देखिएको जटिलताका विषयमा महान्यायाधिवक्ताको कार्यालयमा दुईपटक रायसमेत मागेको थियो। दुवैपटक महान्यायाधिवक्ताको पुरानै प्रक्रिया अगाडि बढाउन राय दिएको थियो।

