हिन्दुधर्मालम्बीहरुले प्रत्येक वर्ष मनाउदै आइरहेको दोस्रो ठुलो चाड तिहार वा दिपावली मनाउदै आइरहेका छौ । प्रत्येक वर्ष यस चार्ड मनाउने प्रक्रिया, तरिका फरक हुदै गइ रहेको छ । हाम्रो साथसाथै हाम्रा वालबच्चाहरुले पनि अनुसरण गर्दै आइरहेका छन । तर धेरै मानिसले दिपावली बनाउनु पर्दछ, रंगहरुको चाड हो भन्ने उद्धेश्यले मात्रै मनाइरहेका छन धेरैलाई तिहार किन मनाइन्छ ? यसको पौराणिक तथा धार्मिक कथा के छ ? बैज्ञानिक कारण के छ भन्ने कुरा थाहा नहुन सक्छ ।
कार्तिक शुक्ल द्धितीया तिथिको दिन मनाइने हिन्दु धर्मावलम्बीहरूको दोस्रो ठुलो पर्व तिहार हो। यो पर्व कात्तिक कृष्ण पक्ष त्रयोदशीका दिन काग तिहारबाट शुरु भएर भाइटिकासम्म (पाँच दिन) मनाइन्छ । पाँच दिनसम्म मनाइने भएकाले यस पर्वलाई यमपञ्चक पनि भनिन्छ । हिन्दु धर्मावलम्बीले दीपावली (दिवाली)को रूपमा यस पर्वलाई धूमधामसाथ मनाउँछन् । यस तिहारको पहिलो दिनलाई काग तिहार, दोस्रो दिन कुकुर, तेस्रो दिनलाई गाई तिहार, चौथौ दिनलाई लक्ष्मी पूजा, गोवर्धन पूजा र पाचौ वा तिहारको अन्तिम दिन भाइ टिका गरि मनाइन्छ । पिङ खेल्ने, दीपावली गर्ने र देउसी भैलो खेल्दै सेल रोटी आदि मिष्ठान्न खाई रमाइलो गरी तिहार मनाउने गरिन्छ । भाइ तिहारको दिन दियो, कलश र गणेशको पूजा गर्ने, यमराजको आह्वान गर्ने, बिमिरो, ओखर, तेल, मखमलीको माला, दूबोको टीका, कटुस आदिको प्रयोगमा आफ्ना दिदीबहिनी र दाजुभाइको सुख–समृद्धि, आरोग्य एवं दीर्घायुको कामना अन्तर्निहित छ ।
तिहारको पौराणिक कथा ।
यमराजले आफ्नी बहिनी यमुनाको निम्तो स्वीकार गरी बहिनीका घरमा गई रमाइलो मनाएको हुँदा यी पाँच दिनलाई यमपञ्चक मानिएको कुरा हिन्दु शास्त्रमा उल्लेख गरिएको छ । यसरी बहिनी यमुनाको घरमा बस्दा यमुनाको व्यवहारले निकै प्रसन्न भई यमराजले बहिनीलाई “जे मन लाग्छ वर माग“ भन्दा यमुनाले ’हरेक वर्ष आजकै दिन मलाई भेट्न आउनुपर्ने, साथै दिदी–भाइ दाजु–बहिनीको प्रेम सदा अटल रहोस् र दाजु भाइको आयु, कीर्ति सदा वृद्धि होस् भन्ने वरदान मागिन् । यमराजले पनि तथास्तु भन्दै मनसा, वाचा, कर्मणा र शुद्ध चित्तले यस प्रकारसँग भ्रातृ पूजा गर्ने गराउनेहरूको सदा उन्नति हुने तथा कीर्ति पनि फिँजिने वर दिई आफ्नी बहिनीसँग बिदा भई गएको र यसरी प्राचीन काल देखि अहिलेसम्म अविच्छिन्न रूपले यो पर्व मानिँदै आएको परम्परा रहेको छ ।
तिहारले एकातिर मानव तथा पशुबिचको प्रगाढ सम्बन्धको चित्र प्रस्तुत गर्छ ।
वैज्ञानिक महत्त्व
तिहार पर्व महान् सांस्कृतिक पर्व हो । तर यस पर्वको सांस्कृतिक महत्त्व भन्दा पनि बढी वैज्ञानिक महत्त्व रहेको विज्ञहरू बताउँछन् । जस्तो चराहरू भनेका वातावरण सन्तुलनका प्रतीक हुन् । बालीनालीमा लाग्ने कीराहरू खाइदिएर चराहरूले कृषिप्रधान मुलुकका कृषकहरूलाई सहयोग पुर्याउने काम त यसै पनि गर्दै आइरहेका छन् । अप्रत्यक्ष रूपमा उनीहरूले मौसम सन्तुलनको दिशामा पनि त्यति नै महत्त्वपूर्ण भूमिका निर्वाह गर्दछन् ।
वर्षको एक दिन कागको पूजा गर्ने प्रसङ्गले मानिसलाई सधैँभरि चराहरू र उनीहरूका वासस्थानप्रति इमानदार हुनुपर्छ भन्ने सन्देश दिन खोजेको बुझिन्छ । त्यस्तै कुकुरको स्वामी भक्ति त यसै पनि संसारमा प्रसिद्ध छ । आफूलाई संरक्षण दिनेप्रति हामी सबैले कुकुरले जत्तिकै इमानदार हुनु कुकुर पूजाको प्रसङ्गले बुझिन्छ ।
त्यस्तै गाईबाट दूधदेखि मलमूत्र र हलो तान्ने वहर दिएर हाम्रो जीवन बचाउने वहरले हलो तानेर र पहाड पर्वतले अक्सिजन दिएर सम्पूर्ण प्राणीको प्राण बचाउने गरेको बुझिन्छ । त्यसैले यति बेला गरिने गाई, गोरु र गोवर्द्धन पूजाको अर्थ पनि उनीहरूप्रति इमानदार हुनुपर्छ भन्ने हुन्छ । लक्ष्मी पूजाको अर्थ धन सम्पत्ति प्राप्तिको कामना हो । धन कमाउनका लागि शरीर स्वस्थ र निरोगी हुनुपर्छ भने शरीर स्वस्थ र निरोगी रहन सदैव प्रसन्न चित्त रहन सक्नुपर्छ । दिदीबहिनीले दाजुभाइको र दाजुभाइले दिदीबहिनीको पूजा गर्दा यसको अर्थ मान्छेले मान्छेको सम्मान गर्न सक्नु र जान्नुपर्छ भन्ने सन्देश दिनु हो ।
कसरी सुरु भयो नेपालमा तिहार
तिहार नेपाली हिन्दु पात्रो अनुसार कात्तिक कृष्ण पक्ष त्रयोदशीका दिन काग तिहारको नामले सुरु भएर कात्तिक शुक्ल पक्षको द्वितीया तिथिको भाइटिकासम्म पाँच दिन मनाइन्छ । हिन्दु चान्द्र मासिक पञ्चाङ्ग गणनाको तिथि अनुसार पर्ने भएकाले नेपाली चाडहरू निश्चित गते र तारिखमा नपर्ने हुनाले तिहार पनि अङ्ग्रेजी वा ग्रेगोरियन क्यालेन्डर अनुसार प्रायः अक्टोबर वा नोभेम्बरको महिनाको सुरुमा पर्छ यस्तै भाइ तिहार (भाइटीका) दिदीले भाइलाई र बहिनीले दाजुलाई अनि त्यसैगरी भाइले दिदीलाई र दाजुले बहिनीलाई विशेष मान, सम्मानका साथ विधिपूर्वक पूजाआजा गर्ने, मेवा–मिष्ठान्न आदि मन पर्ने कुरा खुवाउने, दिदीबहिनीलाई दान.दक्षिणा एवं वस्त्र आदि दिने परम्परा रहेको छ ।
सप्तरंगी टीकाको महत्व
हिन्दु धर्ममा टीकाको धेरै महत्त्व छ, पूजा–पाठ पछि टीका थाप्दा आत्मामा धेरै आनन्दानुभूति हुन्छ । तिहारमा लगाइने टीका सात रङका हुन्छन्, पहेँलो, नीलो, सुन्तला रङको, सेतो, हरियो, रातो र कालो । सात रङका यी टीकालाई सप्तरंगी भनिएको हो । दिदीबहिनीले दाजुभाइको यश, आरोग्य, दीर्घायुको कामना गर्दै निधारमा सप्तरंगी टीका लगाइदिन्छन् । सप्तरंगी टीकामा भावना मिसिँदा शान्ति बर्सिन्छ । दाजुभाइप्रतिको प्रेम रङजस्तै गाढा तथा निरोगी भइरहने विश्वास गरिन्छ । दिदीबहिनीले दाजुभाइलाई ढाकाको टोपी लगाइदिन्छन् । यसले आयु बढाउनुका साथै राष्ट्रियता झल्काउँछ । दाजुभाइ वा दिदीबहिनी नहुनेहरूले रानी पोखरी स्थित मन्दिरमा पूजाआजा गर्छन् । त्यसकारण आफ्ना सन्ततीहरुको संस्कृती पुस्तान्त्रण गर्ने क्रममा उनीहरुलाई पौराणिक तथा धार्मिक कारण सहित बताउन वा मनाउन सकियो भने लामो समयसम्म हाम्रा पुस्ताहरुले स्मरण गरिरहनेछन् ।


