२०८१ कात्तिक ८ गते,
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार गठनको एक सय दिनका लागि सबै मन्त्रालयका तर्फबाट तय भएका काम ७० प्रतिशत सम्पन्न भएको बताउनुभएको छ । प्रधानमन्त्री ओलीले प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बुधबार एक सय दिनको कार्यप्रगति विवरण प्रस्तुत गर्दै सबै मन्त्रालयले गर्ने भनिएका २७४ योजनामध्ये १८५ योजना सम्पन्न भएको जानकारी दिनुभएको हो । उहाँले सरकारप्रति नागरिकको अपेक्षा उच्च रहेको बताउँदै काम र अपेक्षाबिच सन्तुलन हुनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “नागरिकको अपेक्षा मात्रै बढाए पुग्ने तर कामको जिम्मेवारी लिनु नपर्ने पक्षले समाजमा असन्तुष्टिको माहोल खडा गर्न खोजेको छ । मिलेर सामना गर्नुपर्ने राष्ट्रिय सङ्कटबाट पनि राजनीतिक लाभ खोजिरहेको छ ।”
सरकारले बाँकी अवधिमा गर्ने कामको योजना निर्माण थालिएको बताउनुहुँदै प्रधानमन्त्री ओलीले बितेका एक सय दिनमा भएका केही नवीन थालनीले स्थिरता, सुशासन र विकासको लक्ष्यतर्फ अघि बढ्न
मद्दत गर्ने उद्घोष गर्नुभयो । प्रधानमन्त्री ओलीले कांग्रेस–एमाले प्रतिस्पर्धी भए पनि राजनीतिक स्थिरता, विकास, सुशासन दुवै दलका साझा प्रतिबद्धता रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “यी प्रतिबद्धता पूरा गर्न बिग्रिएको थितिलाई सही ठाउँमा ल्याउनु पर्छ । अफवाह, झुट, स्टन्ट र अराजकताले बिथोलेको सामाजिक जीवनलाई यथार्थमा आधारित, शान्त र सुसंस्कृत बनाउनु पर्छ ।” उहाँले सरकार नढल्ने प्रस्ट पार्नुभयो । उहाँले भन्नुभयो, “कसैले नदेखे हुन्छ । सरकार अहिले ढल्छ, भरे ढल्छ, भोलि बिहानै ढल्छ भन्ने जस्ता अफवाह पनि फैलाउने गरिएको छ । यो काम गर्न नदिने उद्देश्यले चलाइएको हल्ला हो ।”
‘भ्रष्टाचारीउपर कारबाही हुन्छ’ प्रधानमन्त्री ओलीले सर्वसाधारणले सहकारीमा जम्मा गरेको रकम अपचलन र ठगी गर्नेहरूलाई सरकारले कानुनी कारबाहीको दायरामा ल्याएको बताउनुभयो । उहाँले हालसम्म छ सयभन्दा बढीलाई कानुनी कारबाही गरिएको र ५७५ जनाभन्दा बढी जेलमै रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “बचत फिर्ता गर्नका लागि आवश्यक पर्ने सहकारी प्राधिकरण ऐन तर्जुमा गर्ने र सहकारी कर्जा सूचना केन्द्र तथा ऋण असुली न्यायाधीकरण स्थापना गर्ने काम पनि सँगसँगै अघि बढाइँदै छ ।” उहाँले भ्रष्टाचारीलाई कारबाही गर्न आफू दृढ रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “संसद्बाट विश्वासको मत लिँदा मैले भनेको थिएँ, ‘कुनै पनि कालखण्डमा भएका भ्रष्टाचार र जोकोही भ्रष्टाचारीउपर कानुनी कार बाही अघि बढाउँछौ ँ । जोसुकै भए पनि सहकारी ठगलाई कानुनी कारबाही गर्ने छौँ ।’
प्रधानमन्त्रीद्वारा सरकारका एक सयदिने उपलब्धि सार्वजनिक ।
2 Mins Read


