२२ असोज, काठमाडौँ ।
२०७८ असार १, साउन १६ र १७ गतेको भेलबाढीपछि काठमाडौंमा अस्थायी तवरले पानी ल्याउने गरिन्छ। हिउँदयामभरि पानी ल्याउने र बर्खामा सुरूङ बन्द गर्ने गरिएको थियो। खानेपानीमन्त्री प्रदीप यादवले मंगलबार काठमाडौँको सुन्दरीजलमा रहेको मेलम्चीको पानी प्रशोधन केन्द्रबाट उपत्यकाका घरहरुमा पानी वितरण कार्यक्रम सुरूवात गरेका हुन् । सुन्दरीजलमा रहेको पानी प्रशोधन केन्द्रबाट मेलम्चीको पानी खोलिएपछि काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का विभिन्न वितरण शाखामा पानी पठाइएको र ती शाखाहरुबाट वितरण सुरु हुने मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रत्नप्रसाद लामिछानेले बताए । उनले भने, ‘मन्त्रीज्यू र मेलम्ची संघर्ष समितिबीच सोमबार राति अबेरसम्म पानी पठाउने विषयमा बसेको वार्ता सफल भएपछि सुन्दरीजलमा पानी खसाउन शुरु गरिएको छ । अहिले यहाँबाट केयुकेएलका विभिन्न पानी वितरण शाखामा पठाइएको छ। खानेपानीमन्त्री यादव र मेलम्ची संघर्ष समितिबीच सोमबार राति भएको बार्तामा काठमाडौँमा पानी लैजाने विषयमा सहमति भए थियो ।
संघर्ष समितिसँग वार्तापछि बाढी पीडित संघर्ष समितिबाट आन्दोलनका सबै कार्यक्रम हाललाई स्थगन गर्ने र काठमाडौं उपत्यकामा पानी पथान्तरण गर्नको लागि मेलम्ची खानेपानी विकास समितिलाई सहयोग गर्ने सहमति भएको थियो । मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी आपूर्ति हुने गरेको छ । मेलम्ची खानेपानीका लागि काठमाडौं उपत्यकामा एक हजार ७ सय किमि नयाँ पाइपलाइन विस्तार गरिसकिएको छ । स्वयम्भू, ताहाचल, बालुवाटार, विशालनगर, पानीपोखरी, मन्डिखाटार र चाबहिल क्षेत्रमा ७ सय ६० किमीमध्ये करिब ७ सय किमि पाइप बिच्छ्याइएको मेलम्ची उपआयोजना–२ ले जनाएको छ।

