‘हेर्ने कथा’ ले युट्युबमा प्रसारण गरेको हराएका वर्ष नामक श्रव्यदृश्य सामग्रीलाई लिएर नेपालका सामाजिक सञ्जाल प्रयोगकर्ताहरूबीच चर्को वादविवाद भएको देखियो । यो छलफल वा विवादमा विभिन्न पृष्ठभूमि र पेशागत आवद्धता भएका व्यक्तिहरूको सहभागिता देखियो ।
पेशागत रूपमा पत्रकारिता गरिरहेका व्यक्ति वा समूहहरू सीमान्तकृत समुदायको एक व्यक्तिमाथि श्रव्यदृश्य निर्माण गरेको तथ्यको प्रशंसामा देखिए भने एउटा अर्को वर्ग भने पत्रकारको समाजप्रतिको उत्तरदायित्व केवल सामग्री बनाएर त्यसलाई प्रसारण गर्ने र बेच्नेमा मात्र सीमित हुन्छ कि आफूले उठाएको विषय वा व्यक्तिको समस्याको समाधानको जिम्मा पनि पत्रकारकै हुन्छ भन्ने कोणबाट प्रश्नहरू उठे । अधिकतर विवाद त्यो सामग्रीबाट आर्जन हुने आर्थिक लाभको हिस्सा सामग्रीको केन्द्रमा रहेका प्रकाश तामाङले पनि पाउनुपर्छ वा उनको घर बनाइदिनेसम्मका काम हेर्ने कथा टिमले गर्नुपर्छ भन्ने कुरामा भएको देखियो ।


