उपत्यका विकास प्राधिकरणका पूर्वआयुक्त भाइकाजी तिवारीविरुद्ध भ्रष्टाचार मुद्धा दायर ।
२०८३ बैशाख ०३, बिहिबार ।
काठमाडौं उपत्यका विकास प्राधिकरणका तत्कालीन विकास आयुक्त भाइकाजी तिवारीविरुद्ध गैरकानूनी सम्पत्ति आर्जनमा भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियारका अनुसार तिवारीको सेवा प्रवेश अवधि मिति २०४४/०५/१९ देखि अवकाश भएको मिति २०७८/०१/०९ सम्मको जाँच अवधिमा कुल वैध आय १४ करोड ५१ लाख ९१ हजार ३५६ रूपैयाँ देखिएको छ । सोही अवधिमा उनको कुल खर्च तथा लगानी २५ करोड ६ लाख ४७ हजार २२७ रूपैयाँ भेटिएको छ । आय-व्यय हिसाब गर्दा १० करोड ५४ लाख ९५ हजार ८७१ रूपैयाँ बराबरको सम्पत्ति गैरकानुनीरूपमा आर्जन गरेको अख्तियारले जनाएको छ । अख्तियारले सोही रकम बराबर रकम बिगो दाबी गरेको छ ।
उक्त मुद्दामा तिवारीकी श्रीमती मिनादेवी र छोरी मीरा तिवारीलाई पनि प्रतिवादी बनाएको छ । तिवारीले गैरकानूनी रूपमा आर्जन गरेको सम्पत्ति श्रीमती र छोरीको नाममा समेत राखेको, घरजग्गा खरिद गरेको र बैंक खातामा रकम जम्मा गरेको देखिएकाले उक्त सम्पत्ति जफत गर्ने प्रयोजनका लागि आमाछोरीलाई प्रतिवादी बनाइएको हो ।
उपत्यका विकास प्राधिकरणका पूर्वआयुक्त भाइकाजी तिवारीविरुद्ध भ्रष्टाचार मुद्धा दायर ।
1 Min Read

