सालमनीदेवी हाईड्रोपावरको आईपिओ आउँदै ।
२०८२ चैत्र ०६, शुक्रबार ।
सालमनीदेवी हाईड्रोपावर लिमिटेडले चौथो वार्षिक साधारण सभा शुक्रबार होटल बद्रीनाथ गौशालामा सम्पन्न गरेको छ।
सभाबाट कम्पनीले जारी पूँजीको २० प्रतिशत बराबरको १० लाख कित्ता आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गरेको हो।
डोटीस्थित कापडीगाड जलविद्युत् आयोजनामार्फत ३.३ मेगावाट विद्युत २०७६ साल देखि व्यवसायिक उत्पादन गर्दै आएको छ।
साथै साधारण सभाबाट नयाँ सञ्चालक समिति पनि निर्वाचित भएको छ। अध्यक्षमा उमा दाहाल चयन भएकी छन् भने सदस्यहरूमा पेरश दाहाल, सुभाषचन्द्र भण्डारी र डा. भिमनाथ खरेल रहेका छन्। स्वतन्त्र सञ्चालकका रूपमा ग्रेस रौनियार नियुक्त भएका छन्।
कम्पनीले आईपिओ मार्फत पूँजी संकलन गर्दै ऊर्जा क्षेत्रका थप परियोजना समेत विस्तार गर्ने लक्ष्य लिएको छ।
कार्यक्रमको समापन गर्दै अध्यक्ष उमा दाहालले कम्पनीको प्रगतिमा शेयरधनी, कर्मचारी, स्थानीय समुदाय तथा सम्पूर्ण सरोकारवाला निकायहरूको महत्वपूर्ण योगदान रहेको उल्लेख गर्दै हार्दिक धन्यवाद ज्ञापन गर्नु भयो र आगामी दिनमा अझ ठूला परियोजनाका साथ अघि बढ्दै कम्पनीलाई ऊर्जा क्षेत्रको विश्वासनीय र अग्रहणी कम्पनीका रूपमा स्थापित गर्न प्रतिबद्ध भएको जानकारी गराउनु भयो।


