धनुषा १ मा नेकपा उमेदवार मातृका यादव विजयी घोषणा, एकै दिन निर्वाचन आयोग र अदालतको पत्र ।
२०८२ फागुन २६, मंगलबार ।
धनुषा १ मा रास्वपाबाट उमेदवार बनेका किशोरी साह कमल विरुद्ध गत फागुन १९ गते निर्माण कम्पनीसँग सम्बन्धित विषयमा कालोसूचिमा रहेको उजुरी परेपछि उनको उम्मेदवारी खारेज गरिएको थियो। यसै विषयलाई लिएर लामो समयदेखि अन्योलमा परेको धनुषा निर्वाचन क्षेत्र नं. १ को प्रतिनिधिसभा सदस्यतर्फको मतपरिणाम अन्ततः घोषणा गरिएको छ। निर्वाचन आयोगको केन्द्रीय कार्यालय पठाइएको निर्देशनसहितको पत्र प्राप्त भएपछि आफूहरूले नेकपा उम्मेदवार मातृका प्रसाद यादवलाई विजयी घोषणा गरेको उनले जानकारी दिए। धनुषा क्षेत्र नं.१ का निर्वाचन अधिकृत मनोजकुमार बरालका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार किशोरी साह कमलको उम्मेदवारी खारेजसम्बन्धी मुद्दा अदालतमा विचाराधीन रहेकाले यसअघि विजय घोषणा रोकिएको थियो। आयोगको उक्त निर्णयविरुद्ध साह अदालत पुगेका थिए। सोही विषयमा अदालतले सोमबार कारण देखाउ आदेश जारी गरेको छ।
उम्मेदवारी विवाद सर्वोच्च अदालतमा पुगेपछि धनुषा–१ को मतपरिणाम घोषणा केही समयदेखि रोकिएको थियो। विवादका कारण निर्वाचन अधिकृतको कार्यालयले मतगणना सम्पन्न भए पनि औपचारिक रूपमा विजयी घोषणा गर्न सकेको थिएन। निर्वाचन आयोगबाट स्पष्ट निर्देशन आएपछि मात्र परिणाम सार्वजनिक गरिएको हो। निर्वाचन अधिकृत बरालका अनुसार रास्वपाका उम्मेदवार साहका मतपत्र भने गोप्य राखिएको छ। अदालतमा मुद्दा विचाराधीन रहेकाले ती मतपत्रलाई अलग राखिएको उनले बताए। मतपरिणामअनुसार नेकपा उम्मेदवार मातृका प्रसाद यादवले १० हजार ४२८ मत प्राप्त गर्दै विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार रामपल्टन साहले ९ हजार ४८५ मत प्राप्त गरेका छन्। नेकपा एमालेका उम्मेदवारले ९ हजार २२० मत प्राप्त गर्दै तेस्रो स्थान हासिल गरेका छन्। लामो समयसम्म मतपरिणाम घोषणा नहुँदा धनुषा–१ मा राजनीतिक तथा कानुनी बहस चर्किएको थियो। निर्वाचन आयोगको पत्रपछि भने उक्त क्षेत्रको मतपरिणाम औपचारिक रूपमा टुंगिएको छ।
धनुषा १ मा नेकपा उमेदवार मातृका यादव विजयी घोषणा, एकै दिन निर्वाचन आयोग र अदालतको पत्र ।
2 Mins Read

